
काठमाडौं, २९ जेठ
सुदूरपश्चिम प्रदेश सभाले नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्ने बिषयको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सभाको हिजोको बैठकले सङ्कल्प प्रस्ताव पारित गरेको हो । बैठकमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिदै प्रदेशसभा सदस्यहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको यथेष्ट तथ्य र प्रमाण रहेको अवस्थामा कूटनीतिक माध्यमबाट वार्ता गरेर अतिक्रमित भूमि फिर्ता गराउन सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा बसेका नेपालीको सुरक्षा र व्यवस्थापनका साथै त्यसक्षेत्रको समग्र विकासका लागि सरकारले योजना ल्याउनुपर्ने माग पनि गर्नुभयो ।-









