
बागलुङ, २९ जेठ ।
मोटरसाइकल चलाउन पाइने तर दुइजना चढ्न नपाइने भएकाे छ । कर्मचारी बोक्ने नीजि संस्थाक गाडी भित्र भौतिक दुरी कायम गरेर बस्नुपर्नेछ ।
सरकारले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
बिहीबार दिउँसो सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु दुई सिफ्टमा बिहान ८ बजेदेखि १ बजे र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर ती सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै बस्नुपर्नेछ ।
यस्तै उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । तर सपिङ मल भने खोल्ने निर्णय नभएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ ।
पैदल आवागमन खुला गरिएको छ, तर ठूलो समूहमा भिडभाड नगर्न र सुरक्षा अपनाउनुपर्नेछ ।
महोत्तरीमा विषाक्त मदिरा सेवन गरेर मृत्यु भएका १२ जनाको परिवारलाई प्रतिमृतक दुईलाख दिने निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।









