बडिगाडका संक्रमितलाई धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा राखियो

बागलुङ, २५ जेठ ।
बागलुङको ताराखोला गाउँपालिकाका ९ जना कोरोना संक्रमित युवालाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा राखिएको छ ।

भारतबाट आई बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ९ जना युवालाई आईतबार विहान संक्रमण पुष्टि भएपछि साँझ एम्बुलेन्समा ल्याएर बागलुङ बजारमा रहेको क्याम्पसको प्रि–आइसोलेसनमा भर्ना गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

उहाँले बडिगाडका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र २५ बर्षिय युवालाई आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालका क्षयरोग तथा कुष्ठरोग सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

क्याम्पसमा आईतबार ९ बेडको आइसोलेसन कक्ष बनाइएको छ । जिल्लामा संक्रमितहरुको संख्या बढेपछि जिल्ला कमाण्ड पोष्टले क्याम्पसमा ५० बेडको प्रि–आइसोलेसन कक्ष बनाउने निर्णय गरेको थियो । बाँकी बेड चाडै बनाइने जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

यस्तै आजै संक्रमण पुष्टि भएका ढोरपाटन नगरपालिकाका २६ बर्षिय पुरुषलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिकाले आज २५ बेडको आइसोलेसन कक्ष निर्माण गरेको हो ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here