
रबिना बोहरा
बागलुङ, २५ जेठ
कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि बागलुङ नगरपालिका–५ मालिकामा व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएपछि अहिले वडा स्तरमा पनि सतर्कता अपनाएर क्वारेन्टिनलाई व्यवस्थित बनाउन थालिएको हो ।
राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी एवं स्वमसेविकाहरु रहेको वडा स्तरीय समुहको पहलमा बागलुङ नगरपालिका–५ का चार वटा विद्यालयमा व्यवस्थित क्वारेन्टिन निर्माण गर्न थालिएको छ । अहिले मालिका माध्यामिक विद्यालयको भवनमा भने क्वारेन्टिन बनाएर छिमेकी मुलुक भारतबाट आएका व्यक्तिहरुलाई राखिएको बानपा–५ का वडा अध्यक्ष शिव प्रसाद सापकोटाले बताउनुभयो ।
यस संगै बानपा ५ को श्रीकृष्ण आधारभुत विद्यालय बान्द्रे, मालिका आधारभुत विद्यालय पञ्चासे, बालश्रम प्राथमिक विद्यालय मालिकामा पनि क्वारेन्टिन निर्माण गर्न वडा स्तरीय समिति गठन गरेर काम अगाडी बढाइएको छ । मालिका माध्यामिक विद्यालयमा यही जेठ १६, १७ र १९ गते भारतको दिल्ली, सिलाङ र चेन्नईबाट आएका चार जनालाई राखिएको सापकोटाले जानकारी दिनुभयो । विद्यालयको चार वटा कोठामा चार जना व्यक्तिहरुलाई छुट्टाछुट्टै राखिएको अध्यक्ष सापकोटाको भनाई छ ।
उनीहरुको सुविधाका लागि धारा, बेड, शौचालय समेत फरक फरक प्रयोग गर्न लगाइएको छ । आइपर्न सक्ने स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पिफर्म, खाट, बाल्टिन, जग, तन्ना, सिरानी लगायतका सामाग्री समेत उपलब्ध गराएको बानपा–५ को वडा कार्यालयले जनाएको छ । हुनेहरुले आफ्नै घरबाट सामाग्रीहरु ल्याउने गरेको भएपनि गरिब तथा विपन्नहरुका लागि भने विभिन्न संस्थाले गरेको नगद तथा भौतिक सहयोगबाट नै सामाग्री उपलब्ध गराएको बताइएको छ ।
क्वारेन्टिन व्यवस्थापनका लागि मालिका सेवा समाज बागलुङले ५० हजार, मौरीभिर सामुदायिक बनले १२ हजार बराबरको खाट बनाउने रुख एवं खानाका लागि समेत केही व्यक्तिले सहयोग गरेको वडा कार्यालयले जनाएको छ । राज्यले केही समय अघि क्वारेन्टिनमा राखेको ७ दिनमा स्वाव संकलन गर्ने बताएको भएपनि अहिले ११÷१२ दिनमा मात्रै स्वाव संकलन गर्ने निर्णय गरेको थियो ।
१२ दिन पछि गरिने आरडिटी परिक्षणमा पोजेटिभ देखिए पिसिआर परिक्षण गर्ने, नेगेटिभ देखिए घर पठाउने बताएपछि संक्रमणको जोखिम थप बढेको स्थानीयबासीले बताएका छन् । पिसिआर परिक्षणमा सरकार देखाएको लापरवाहीका कारण थप संकट उत्पन्न हुन सक्ने भन्दै क्वारेन्टिनमा रहेकालाई पिसिआर परिक्षण पछि मात्रै घरमा पठाउन दबाब दिएका छन् ।










