संक्रमितलाई कहाँ राख्ने भन्नेमा अन्यौल भयोः मेहरसिंह पाइजा

मेहरसिंह पाइजा (अध्यक्ष, बडिगाड गाउँपलिका)

बागलुङ, २५ जेठ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जिल्ला कमाण्ड पोष्टले स्पष्ट रुपमा नबताउँदा संक्रमितलाई कहाँ राख्ने भन्नेमा अन्यौल सिर्जना भएको बताउनुभएको छ ।

धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षा भरीएपछि आज विहान थपिएका १० जना नयाँ संक्रमितलाई कहाँ राख्ने भन्नेमा अन्यौल भएको हो । अस्पतालको आइासेलेसन क्षमता २४ बेडको भएपनि हाल एक महिला सहित १७ जना  संक्रमित र सम्वेदनशिल अवस्थाका दुई युवा गरी १९ जना उपचाररत छन् । संक्रमित महिलासँग उनका ७ महिने छोरासँगै रहेका छन् । उनलाई संक्रमण छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङमा बनेको जिल्ला कमाण्ड पोष्टले यथेष्ट रुपमा पूर्व तयारी गर्न नसक्दा स्थानिय तहहरु अन्यौलमा परेका छन् ।

धौलागिरी अस्पताल बागलुङमा २४ बेडको आइसोलेसन कक्ष भएपनि अहिले १६ जना संक्रमित र २ जना आशंकामा भर्ना गरिएका छन् । जिल्ला कमाण्ड पोष्टले मिटिङ बसिरहेको र केहि समयमा जानकारी गराउछौं भनेपनि स्थानिय तहलाई कहाँ पठाउनेभन्नेमा अन्यौता सिर्जना भएको हो ।

‘कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले हामीलाई हतारमा नपठाउनुहोस्, हामीले व्यवस्था गरेपछि खबर गछौं भन्नुभएको छ,’ अध्यक्ष पाइजाले भन्नुभयो–‘हामीलाई बजार व्यवस्था गर्ने जानकारी गराएपनि ढोरपाटनका मेयरलाई बुर्तिबाङमै राख्नुहोस् भन्ने जानकारी आएको खबर पाएर फोन गरिरहेको छु लागेको छैन ।’

जिल्ला कमाण्ड पोष्टले यस अगाडी ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेडको प्रि–आइसोलेसन बनाउने निर्णय गरेको थियो । ‘कमाण्ड पोष्ट र स्थानिय तहहरुले बुर्तिबाङमा प्रि–आइसोलेसन बनाउने निर्णय त गरेको थियौं अध्यक्ष पाइजाले भन्नुभयो–‘बेड लगायतका सामाग्रि अभाव र निर्णय गरेको एक, दुई दिनमै संक्रमित थपिदा कहाँ राख्ने भन्नेमा अलमल भइरहेको छ ।’

अध्यक्ष पाइजाले स्थानिय तहलाई जनशक्ति र बजेट उपलब्ध गराएमा आफै आइसोलेसन बनाएर उपचार गाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कि राज्यले संक्रमितहरुको उपचारको लागि कहाँ पठाउने हो भन्नुप¥यो नभए बजेट र जनशक्ति हामीलाई दिनुपर्यो हामी आफै उपचार गराउछौं ।’

स्थानिय तहलाई पिसिआर रिपोर्ट ढिलो आउँदा समेत समस्या परेको छ । ‘गाउँपालिकाकै खर्चमा क्वारेन्टाइनमा राखिएको छ,’ अध्यक्ष पाइजाले भन्नुभयो–‘रिपोर्ट ५, ६ दिनमा आउँदा त्यसो गर्दा खर्च बढ्ने र क्वारेन्टाइनमा बस्नेहरुर्लाइ समेत संक्रमण फैलिन सक्ने भएकाले अहिले समस्या भइरहेको छ ।’ गाउँपालिकाले पिसिआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई पुनः आरडिटि परीक्षण गरेर मात्र घर पठाउने गरेको छ । गाउँपालिकाले अहिलेसम्म २ सय आरडिटि किट आफै किनेको र केहि प्रदेश सरकारले उपलब्ध गराएपनि अहिले सकिएकाले अभाव भइरहेको अध्यक्ष पाइजाले बताउनुभयो ।

आईतबार विहान बडिगाड गाउँपालिकाका ९ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै गाउँपालिकामा संक्रमितको संख्या १५ पुगेको छ ।

यता, जिल्ला कमाण्ड पोष्टले आजका संक्रमितहरुलाई कहाँ राख्ने भन्नेमा बैठक भइरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले कमाण्ड पोष्टले ८६ ओटा प्रि–आइसोलेसन बनाउने निर्णय गरेको एक, दुई दिनमै नयाँ संक्रमितहरु बढिरहेकाले उनीहरुलाई कहाँ राख्नेभन्नेमा अन्यौल भएको बताउनुभयो । उहाँले आजका संक्रमितहरुलाई कहाँ राख्ने भनेर अहिले बैठक भइरहेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here