
बागलुङ, २४ जेठ ।
बागलुङको ताराखोला गाउँपालिकाका १ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
भारतवाट आई ताराखोला गाउँपालिकाको कोरोन्टाईनमा बसेका ३९ वर्षिय पुरुषमा आज शनिबार विहान संक्रमण पुष्टि भएपछि एम्बुलेन्स मार्फत अस्पताल ल्याइ आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा शनिबार विहान पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. पोखरेलले बताउनुभयो ।
यससँगै अस्पतालको आइसोलेसन कक्षमा संक्रमित १७ जना र स्वास्थ्यमा समस्या देखिएका २ जना रहेका छन् । गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा रहेका ३३ बर्षिय पुरुष र बागलुङ नगरपालिका–४, द्वारेगौडामा रहेको धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारैन्टाइनमा रहेका २३ बर्षिय पुरुषलाई शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका मेसु डा. पोखरेलले बताउनुभयो ।
संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।










