गल्कोटका संक्रमितलाई अस्पताल ल्याइयो, निसीखोलाबाट भोली ल्याइने

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २२ जेठ ।
बागलुङको गल्कोट नगरपालिकाका ३ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा राखिएको छ ।

बिहिबार विहान कोरोना पुष्टि भएका उनीहरुलाई गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनबाट एम्बुलेन्स मार्फत साँझ धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याएर भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा रहेका २०, २२ र २३ बर्षका पुरुषलाई संक्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए ।

यस्तै आजै संक्रमण पुष्टि भएका निसीखोला गाउँपालिकाका ३ जना संक्रमितलाई भोली (शुक्रबार) मात्र अस्पताल ल्याइने भएको छ ।

निसीखोलाको नरसिंहकोटको भवनमा निर्माण गरेको क्वारेन्टाइनमा रहेका एक जना ३३ बर्षिया महिला र दुई जना २२ र २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । विहानै संक्रमण पुष्टि भएपनि जिल्ला कमाण्ड पोष्टले कहाँ राख्ने भन्नेमा ढिलो निर्णय गर्दा उनीहरुलाई आज अस्पताल ल्याउन नसकिएको हो ।

गाउँपालिका अध्यक्ष तारानाथ शर्माले पालिकामा एम्बुलेन्स नभएको र अन्य सवारी साधन नपाएको कारण आज अस्पताल नपठाएको बताउनुभयो । उहाँले सार्वजनिक सवारी साधनले संक्रमित बोक्न नमान्ने र अन्य सवारी साधन खोज्दा नपाएको कारण आज पठाउन नसकिएको बताउनुभयो । उनीहरुलाई क्वारेन्टाइनमा छुट्टै राखिएको अध्यक्ष शर्माले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here