
बागलुङ, २२ जेठ ।
अहिले फेसबुकमा चर्चामा रहेको बागलुङ नगरपालिका–३ को भलाटाकुरा, धैरेनीमा बन्दै गरेको सडकको नालीको गुणस्तर ठिक रहेको पाइएको छ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल सहितको टोलीले बिहिबार विहान गरेको अनुगमनको क्रममा ढलानकै दिन पानी परेकाले ढलान बगाएको र फेसबुकमा आएको जस्तो गुणस्तरहिन काम नभएको पाएको हो ।

सामाजिक सञ्जालमा माटो माथि ढलान गरेको भन्ने प्रचारबाजी भएपछि नगरप्रमुख, वडाअध्यक्ष लक्ष्मी बाँस्कोटा सहितको टोलीले अनुगमन गरेको र त्यस्तो नपाइएको नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो । उक्त सडकमा विएमए निर्माण सेवाले कालोपत्रे र नाली निर्माणको काम गरिरहेको छ ।
सामाजिक सञ्जालमा आएजस्तो माटो माथि ढलान गरेको नभइ ढलान गरेको दिन भिषण पानी परेकाले गिट्टी माथिको ढलान बगाएको पाइएको इन्जिनियर शर्माले बताउनुभयो । उहाँले नालीको वाल र ढलान गुणस्तरहिन भएको गुनासो आएपछि बिहिबार अनुगमनको क्रममा खनेर हेरिएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा नालीको ढलान गुणस्तरहिन रहेको कुरा भाइरस भएपछि नगरप्रमुखको नेतृत्वमा अनुगमन गरिएको थियो,’ इन्जिनियर शर्माले भन्नुभयो–‘ढलान गरेकै दिन पानी परेकोले फोटोमा गुणस्तरहिन देखिएको रहेछ । अहिले उक्त स्थानमा पुनः ढलान गरिएको छ । पानीले नबगाएको ठाउँमा ढलान फुटालेर गुणस्तर परीक्षण गरिदा ठिक पाइयो ।’

नगरप्रमुख जनकराज पौडेलले बाहिर आएजस्तो नभइ अहिलेसम्मको काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले ढलानको दिन पानी परेकाले सोली माथि पानी पर्दा ढलान बगाएको र अहिले उक्त स्थानमा पुनः ढलान गरिएको अनुगमनको क्रममा देखिएको बताउनुभयो ।
नगरप्रमुख पौडेलले इन्जिनियर र स्थानियहरुको उपस्थितिमा ढलान गरिएको स्थानमा फुटाएर गुणस्तरको परीक्षण गर्दा ठिक रहेको बताउनुभयो । उहाँले निर्माण सम्पन्न नभएको र अहिलेसम्म सन्तोषजनक रहेको पाइएको बताउनुभयो ।

स्थानिय विकास साझेदारी कार्यक्रम अन्तरगत निर्माण उक्त सडकको कालोपत्रे र नाली निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको ६० लाख र बागलुङ नगरपालिकाको समपुरक कोषको ४० लाख गरी १ करोड रुपैयाँ लागत रहेपनि विएमए निर्माण सेवाले ९२ लाख २० हजार ४ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
निर्माण कम्पनीका ठेकेदार विमलेश आचार्यले ढलान गरेकै दिन मजदुरले नाली नढाकी छोडेको कारण पानीले बगाएको र सोहि अवस्थामा केहि व्यक्तिहरुले फोटो खिचि नकरात्मक रुपमा प्रचारवाजी गरिदिएको बताउनुभयो । आचार्यले कुनै व्यक्तिले बुझ्दै नबुझि सामाजिक सञ्जालमा नकारात्मक रुपमा प्रचार गरी मानहानी गरेकाले उनीहरु विरुद्ध साइबर क्राइमको मुद्धा अगाडी बढाउने तयारीमा रहेको बताउनुभयो ।
उक्त सडकको कालोपत्रे र नाली निर्माणको लागि जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने निर्णय भएको थियो । लकडाउनको कारण १ महिना समय थप गरिएको छ ।
मजदुरको अभावको कारण समयमै काम सम्पन्न गर्न समस्या सिर्जना भएको ठेकेदार आचार्यले बताउनुभयो । उहाँले अहिले स्थानिय मजदुर प्रयोग गरेपनि कालोपत्रेको लागि तराई क्षेत्रका कामदार ल्याउन तयारी गरिएको बताउनुभयो ।











