
बागलुङ, २२ जेठ ।
कोरोना आशंकामा धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा भर्ना भएका एक युवामा स्वास्थ्य समस्या बढेपछि पोखरा रिफर गरिएको छ ।
भारतदेखि फर्केर गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा बसेका रिघाका २३ वर्षका युवालाई रगतमा समस्या देखिएपछि बिहिबार दिउँसो गण्डकी अस्पताल पोखरा पठाइएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
युवा रिघाको क्वारेन्टाइनबाट स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
युवाको भारतबाट नेपाल आउँदा सिमा नाका र रिघाको क्वारेन्टाइनमा रहँदा पिसिआर परीक्षण गरिएको थियो । दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको डा. पोखरेलले बताउनुभयो । उनको दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपनि उनलाई उच्च ज्वरो, खोकी, डाइरिया र रक्तकोषमा समस्या देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
आइसोलेसन उपचाररत उनलाई रगतमा समस्या रहेको र अहिले बढ्दै गएको र शरिरको अन्य अंगहरुमा पनि समस्या बढ्दै गएकोले थप उपचारको लागि पोखरा रिफर रिएको डा. पोखरेलले बताउनुभयो ।
उनको फेरी कोरोना परीक्षणको लागि बुधबार स्वाब संकलन गरि पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।










