
बागलुङ, २२ जेठ ।
कोरोना संक्रमण पुष्टी भएका बागलुङ १० जनालाई धौलागिरी अस्पतालको आईसोलनमा राखिने भएको छ ।
जिल्ला कमाण्ड पोष्टको बैठकले आज पुष्टि भएका थप १० जनालाई धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले दिनुभयो । उहाँले अस्पतालमा १२ बेडको क्षमता रहेकाले १२ बेड थप गरि आज पुष्टि भएका १० जनालाई अस्पतालमा राख्ने निर्णय गरिएको बताउनुभयो ।
१२ बेड थप गर्ने निर्णय भएसँगै प्रसुति वार्ड खाली गरि आइसोलेसन बनाइएको अस्पतालका क्षयरोग तथा कुष्ठरोग सुपरभाइजर देवप्रकाश घिमिरेले बताउनुभयो । उहाँले प्रसुति वार्ड सामान्य कोठामा व्यवस्थापन गरिएको बताउनुभयो ।
यस्तै जिल्ला कमाण्ड पोष्टले अस्पतालमा २४ बेडको आइसोलेसन र बागलुङका स्थानिय तहहरुको समन्वय र व्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पस, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नरेठाँटी उपस्वास्थ्य चौकी भवन र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ८६ बेडको प्रि–आइसोलेसन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको समन्वय र व्यवस्थापनमा धौलागिरी अस्पताल अन्तरगत धौलागिरी बहुमुखी क्याम्पसमा ५० बेड, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखाला गाउँपालिका र तमानखोला गाउँपालिकाको समन्वय र व्यवस्थापनमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेड, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको समन्वय र व्यवस्थापनमा गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अन्तरगत नरेठाँटी उपस्वास्थ्य चौकी भवनमा १२ बेड र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको व्यवस्थापनमा कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सम्भाव्यता अध्ययन गरि १२ बेडको प्रि–आइसोलेसन निर्माण गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
कमाण्ड पोष्टले प्रि–आइसोलेसन निर्माणको लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशलाई काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकालाई १० लाख, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखाला गाउँपालिका र तमानखोला गाउँपालिकालाई ५ लाख, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकालाई ५ लाख र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई ५ लाख रुपैयाँ उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
बैठकले धौलागिरी बहुमुखी क्याम्पसमा संचालन हुने प्रि आइसोलेसन बेड धौलागिरी बहुमुखी क्याम्पसमा सञ्चालन गर्ने व्यवस्था मिलाउनको लागि प्रस्ताव गरिएकोले भवन उपलब्ध गराउनको लागि अनुरोध समेत गरेकोछ । यस्तै प्रि आइसोलेसन कक्षको लागि निजी तहबाट सञ्चालित अस्पतालहरुले बेड उपलब्ध गराई दिन समेत अनुरोध गरेको छ । बैठकले निलगिरी अस्पतालबाट १५ बेड, सफल पोलिक्लिनिकबाट १० बेड र मुक्तिनाथ हस्पिटलबाट १५ बेड उपलब्ध गराई दिन अनुरोध गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौले बताउनुभयो ।
यस्तै स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएकाहरुलाई प्रि–आइसोलेसनमा राख्ने र लक्षण देखिएपछि उपचारको लागि मात्र रिफरका आधारमा धौलागिरी अस्पतालमा उपचार गर्न ल्याउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।










