
बागलुङ, २१ जेठ ।
रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनाका दोषिलाई कारवाहीको माग गर्दै बागलुङका दलित अधिकारकर्मीहरुले मंगलबार बागलुङमा धर्ना दिएका छन् ।
बगलुङमा क्रियाशिल दलित संघसंस्थाले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिएका हुन् ।
धर्नामा सहभागिले अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विक लगायत उनका ५ जना साथिकाे हत्या अमानवियताको पराकाष्टा भएको भन्दै यस्तो जघन्य अपराधमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।
धर्ना अभियानमा उपस्थित भएका दलित अधिकारकर्मी धनबहादुर परियार भन्नुभयो–‘२१ औं शताब्दिमा पनि छुवाछुतको बारेमा बोल्नुपर्ने, अभियानहरु संचालन गर्नुपर्ने र अन्तरजाति विवाहमा जोडिएका युवक र युवतीको मृत्युहुनुपर्ने अवस्था रहेको भन्दै अब हामीले कसरी देशमा गणतन्त्र छ प्रजातन्त्र आएको छ भनेर हामीले अनुभुति गर्नसक्छौं यो प्रश्न चिन्ह हाम्रो विचमा खडा भएको छ ।’
उहाँले अहिले पनि मान्छेले मान्छेलाई छुन नहुने, मन्दिर जान नहुने, एउटा मान्छेले अर्को मान्छेलाई सहज ढंगले नस्विकार्ने र मानव मानव विचमा भएको प्रेम सम्बन्धलाई समेत स्विकार्न नसकेर मृत्यु सम्म पु¥याउने बातावरण अहिले मानव समुदायले सिर्जना गरेको छ त्यो दुःखदायी रहेको छ ।
उहाँले अहिले भारतले सिमा अतिक्रमण गरेको अवस्था र कोरोना महामारीबाट मानव समुदायलाई कसरी बचाउने भन्ने बारेमा चिन्तित भएको अवस्थामा दलित समुदायप्रति सिंगो बज्रापात भएको छ यसको हामी घोर भत्सना गरेका छाै ।
हामीले सरकारले घटनाको छिटो छानविन गरी दोषिलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै पीडित परिवारलाई न्याय दिई यो देशमा कानुन छ भन्ने अनुभुति दिलाउनुपर्ने परियारले बताउनुभयो ।
उहाँले यो आन्दोलन दलित समुदायले गरेर मात्रसम्भव नभएकोले सवैले साथ दिनुपर्ने बताउनुभयो । ‘यो आन्दोलन दलित समुदायले मात्रै गरेर सम्भव छैन, यो अधिकार लिनको लागि नागरिक समाज, राजनैतिक दल र सबै नेपालीहरुले साथ दिएमा सफल हुनसक्छ,’ परियारले भन्नुभयो–‘सवैको साथ र सहयोगले वास्तवमा मानव हो भन्ने अनुभुति गर्न सकिन्छ ।’
उहाँले रुकुमको घटनामा सरकारले चाडो छानविन गरेर दोषिलाई कारवाही नगरेमा आन्दोलनको चरणहरु बढाउँदै जाने बताउनुभयो ।
यस्तै दलित नेपाल दलित मुक्ति सँगठनका इन्चार्ज टिकाकुमारी विक २१ औं शताब्दिमा केटाकेटीको मनमिलेर प्रेम विवाह गर्न केटि लिन जाँदा ढुंगाले हानेर लखेटि हत्या गरेकोले त्यो घटनाले सिंगो नेपाल रोइरहेको बताउनुभयो । उहाँले अहिले एउटा जवान छोराले अब केहि गर्छ भन्ने बेलामा एउटी आमाको काख रितिएको छ र सिंगो देश रोइरहेको बताउनुभयो ।
इन्चार्ज विकले यो तत्कालको घटना भएपनि देशमा छुवाछुत राष्ट्र घोषणा भइसक्दा समेत पटक–पटक दलित समुदाय माथि यस्ता घटना घटिरहेको बताउनुभयो । उहाँले अहिले मान्छे भएर पनि मान्छे जसरी बाँच्न नपाएको महशुष हुने गरेको बताउनुभयो ।
विकले दलित समुदायका चेलीबेटीलाई गैरदलित समुदायका केटाहरुले प्रेमको नाटक गरी यौनशोषण गरेर घरमा अस्विकार गर्ने भनेर घर नघाटको बनाइरहेकाले यस्ता घटनाका दोषिहरुलाई कडा कारवाही गर्न आग्रह गर्नुभयो ।















