बगलुङ, २० जेठ ।
नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै धौलागिरी अस्पताल बागलुङका डाक्टरहरुले मंगलबार प्ले कार्डं सहित प्रदर्शन गरेका छन् ।

घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

नेपाल मेडिकल कलेजका चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हातमा कालोपट्टी बाँधेर प्ले कार्ड सहित सांकेतिक विरोध गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले खबरवे अनलाईनलाई बताउनुभयो ।

‘उपचारको क्रममा पटक–पटक डाक्टर स्वास्थ्यकर्मीहरु माथि आक्रमण भइरहेको र डाक्टरहरुलाई सुरक्षाको प्रत्याभुति भएको छैन,’ डा. पोखरेलले भन्नुभयो–‘अहिले हालै काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचारमा खटिएका डाक्टर माथि हातपात हुँदा समेत दोषि माथि कुनै कारवाही नभएकोले यथाशिघ्र कारवाहीको माग गर्दछौ ।’

उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन् । डाक्टर पोखरेलले सुरक्षाको प्रत्याभुति नहुँदा समेत अहिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाले सुरक्षाको प्रत्याभुति समेत गराउनुपर्ने बताउनुभयो ।

जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए ।

यस्तै अस्पतालका डाक्टरहरुले नेपाल मेडिकल कलेजका चिकित्सकको आन्दोलनमा एक्यबद्धता जनाएको पत्र प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत पठाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here