
काठमाडाैं, १७ जेठ ।
कोभिड-१९ को संक्रमणबाट जोगिन सबै जना घर भित्रै बसिरहेका बेला स्वास्थ्यकर्मीहरु भने अग्रपङ्तिमा रहेर संक्रमितको उपचारमा जुटिरहेका छन् । संक्रमितको स्याहारमा जुटिरहेका उनीहरु आफैं भने संक्रमणको उच्च जोखिममा छन् । कोरोना संक्रमण बढेसंगै स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आबश्यक सतर्कता अपनाउन अपिल गरेको छ । शनिवारविहान सम्म झण्डै १० जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । धनकुटा, कपिलवस्तु, वीरगञ्ज, बाँके र काठमाण्डौका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउनुहुन्छ ।
सरकारी स्वास्थ्य संस्थाहरुमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी हाल करीव ३२ हजार कार्यरत छन् । ति मध्ये संघमा करीब २ हजार ६ सय, प्रदेशमा ३ हजार ५ सय र स्थानीय तहमा २५ हजार बढी कार्यरत छन् । मुलुकमा संक्रमण बढ्दै गए थप स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रकृयामा पनि मन्त्रालय जुटेको डा.देवकोटा बताउनुहुन्छ ।
बिहिबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा पनि कोरोना तथा अन्य संक्रामक रोगको उपचार तथा रोकथाममा खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाखको निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिने उल्लेख छ ।
बिश्वब्यापी रुपमै स्वास्थ्यकर्मीहरु जोखिममा रहेको तथ्य सार्वजनिक भैसकेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ परिषदले सार्वजनिक गरेको तथ्याङ्कमा विशवभर ९० हजार भन्दा बढी नर्सहरु कोरोनाबाट संक्रमित भएका छन् ।
अन्तर्राष्ट्रिय नर्सिङ परिषदको यो तथ्याङ्क ३० वटा मुलुकको मात्रै हो । झण्डै पुरै विश्वमा संक्रमण फेलिइसकेको अहिलेको अवस्थामा यो संख्या अझै धेरै भएको अनुमान गर्न सकिन्छ ।
अमेरिका स्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिका भरी ६० हजार बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।
स्पेनमा जम्मा संक्रमित मध्ये १४ प्रतिशत संक्रमित चिकित्सक नर्स एवम् स्वास्थ्यकर्मीहरु नै छन् । गत साता सार्वजनिक भएको एक तथ्याङ्कमा इटली, स्पेन र फ्रान्स प्रत्येक देशमा ३० जना भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको बताइएको छ ।
हजारौं स्वास्थ्यकर्मीहरु स्व एकान्तवासमा बसिरहेका छन् । महामारीसंग जुधिरहेका यूरोपका चिकित्सक नर्स एवम् स्वास्थ्यकर्मीहरुले यसलाई ठूलो युद्ध भूमिमा भइरहेको लडाईंको संज्ञा दिएका छन् ।









