दुई जनाको उपचार खर्च होइन, चार महिनाको जोखिम भत्ता प्रस्ताव गरेको होः अस्पताल

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, १६ जेठ ।
धौलागिरी अस्पताल बागलुङले कोरोना भाइरसको दुई जना संक्रमितको उपचारका लागि नभइ स्वास्थ्यकर्मीको चार महिनाको जोखिम भत्ता माग गरिएको बताएको छ ।
अस्पतालले गण्डकी प्रदेशसभामा प्रश्न उठे जस्तो र सञ्चार माध्यममा आए जस्तो दुई जना कोरोना संक्रिमतको उपचारको लागि १ करोड ५३ लाख रुपैयाँ खर्च माग नभएको जनाएको हो । अस्पतालमा पत्रकारहरुसँगको कुराकानीमा निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले प्रदेश सरकारले सरकारले व्यवस्था गरेको नियमानुसार चार महिनाको जोखिम भत्ताको फारम भरेर पठाउन भनेकाले उक्त प्रस्ताव गरी पठाएको बताउनुभयो ।

उहाँले कोरोना संक्रमितको उपचार गरेको संख्या गनेर भत्ता मागेको कुरा झुट भएको बताउनुभयो । ‘हामीले २ जनालाई निको बनायौं, अब डेढ करोड भत्ता दिनुस् भनेका छैनौं’ डा. पोखरेलले भन्नुभयो, ‘सरकारले नै फारम भरेर विवरण पठाइदिनुप¥यो भनेर पठाएका हौं ।’ हामीलाई मन्त्रालयले चैत, वैशाख, जेठ र असारसम्मको विवरण पठाउन भनेको थियो, सोही अनुसार नै हामीले पठाएका हौं’ डा. पोखरेलले भन्नुभया ।
डा. पोखरेलले निर्देशिकामा व्यवस्था भएअनुसार १ सय ६९ जना कर्मचारीलाई चैत ९ गतेदेखि असार मसान्तसम्मको शतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत जोखिम भत्ता माग गरिएको बताउनुभयो । फ्रण्टलाइनमा काम गर्ने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी र अस्पतालका सरसफाई कर्मचारी गरी ११३ जना छन् । उनीहरुले शत प्रतिशत भत्ता पाउनेछन् । यस्तै, दोस्रो प्राथमिकतामा रहेका २५ जनाले ७५ प्रतिशत र तेस्रो प्राथमिकता रहेका ३१ जनाले ५० प्रतिशत पाउने गरी वर्गीकरण गरेर पठाइएको डा. पोखरेलले जानकारी दिनुभयो ।
डा. पोख्रेल आलोपालो ड्युटी खटाउँदा सबैको पालो परेको बताउनुभयो । उहाँले अहिले अस्पतालमा काम गर्ने सवै कर्मचारीले जोखिम मोलेरै काम गरेको र सवैलाई रोटेसनको आधारमा काम लगाएकोले कसैलाई माया गरेर भत्ताको लागि मात्र सिफारिस नगरेको बताउनुभयो ।

जोखिम भत्ता पाउनेहरुको लिष्ट पठाउँदा उनीहरुको तलब स्केलसहित वर्गीकरण गरेको डा. पोखरेलले बताउनुभयो । सरकारले ३ तहमा वर्गीकरण गरेर पठाउन भने अनुसार नै वर्गीकरण गर्दा उनीहरुलाई दिने ४ महिनाको जोखिम भत्ता वापत १ करोड ५३ लाख १८ हजार १ सय ५८ रुपैयाँ आएको उहाँले बताए ।
महामारीको बेला आफ्नो स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेकाले उनीहरुलाई हौसला प्रदान गर्नुपर्ने अस्पताल विकास समितिका अध्यक्ष केवि राना मगरले बताउनुभयो । उहाँले अहिले सवैले स्वास्थ्यकर्मीको हौसला बढाउने हो उनीहरुलाई सरकारले जोखिम भत्ता भनेर घोषणा गरेको छ सोहि नियमानुसार पाउने व्यवस्थालाई कसैले रोक्न नहुने बताउनुभयो । अध्यक्ष रानाले जोखिम भत्ताको प्रस्ताव सिफारिसमा गलत नभएको र भएको भए त्यसलाई विकास समितिले तत्काल रोक्ने बताउनुभयो ।

अस्पतालले दुई संक्रमितको उपचारमा ठूलो खर्च नभएको र पुरा हिसाव निकाल्न बाँकी रहेको बताएको छ ।
धौलागिरी अञ्चल अस्पताल गण्डकी प्रदेशमा कोरोना संक्रमणको उपचार गर्ने पहिलो अस्पताल हो । बागलुङका ८ जना संक्रमित मध्ये २ जना निको भइ घर फर्किएका छन्भने हाल अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here