
बागलुङ, १५ जेठ ।
काठेखोला गाउँपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले बैदेशिक रोजगारीमा गएका नागरिकहरु फर्किने क्रम बढेपछि संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर जेठ २० गतेसम्म लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।
सर्वदलिय बैठकले लकडाउनको अवधिमा गाउँपालिका भित्र अत्यावश्यक दुध तथा विरामी बोकेका गाडी बाहेक अन्य गाडीको प्रयोग पूर्ण प्रतिबन्ध लगाउने र खाद्यान्न ढुवानी तथा निर्माण सामाग्री ढुवानीको लागि गाउँपालिका वा वडाको सिफारिसमा ट्याक्टरको मात्र प्रयोग गर्नुपर्ने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो ।
सर्वदलिय बैठकले भीमसेन मा।वि।, अमर मा।वि। र भिमसेन प्रा।वि।मा ५० वेड थप गरि १०० बेड सहितको गाउँपालिका स्तरीय क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको गाउँ कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो ।
विदेशबाट घर फर्किनेहरुको संख्यामा बृद्धि भएपछि क्वारेन्टाइनको क्षमता वृद्धि गर्ने निर्णय गरिएको हो । बैठकले एक सय बेडको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने र थप सय बेडको क्वारेन्टाइनको लागि लेखानी मा।वि, धारा मा।वि। र रेश नुनथला मा।वि।मा निर्माणको तयारी गर्ने निर्णय गरेको कार्यपालिका सदस्य विकले बताउनुभयो । क्वारेन्टाइनमा रहेकाहरुको गाउँपालिकाले पिसिआर परीक्षण गर्ने र रिपोर्ट नआउँदा सम्मको अवस्थामा खानाको व्यवस्थापनका गाउँपालिकाले गर्नेछ ।
क्वारेन्टाइन व्यवस्थापनको लागि वडा स्तरका स्थानिय क्लब, महिला समूह, स्वास्थ्य स्वयंसेविका एवं सामाजिक संघसंस्थालाई परिचालन गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।
यस्तै काठेखोला–५ घोडाबाँधे र वडा नम्बर १ खहरे नजिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवकको सहयोगमा हेल्थ डेक्स तथा चेक प्वाइन्ट राख्ने र गाउँपालिका भित्रका शिक्षक, कर्मचारीहरुलाई क्वारेन्टाइन व्यवस्थापन, हेल्थ डेक्स, चेक प्वाइन्टमा स्वयंसेवकको रुपमा परिचालन गर्न गाउँपालिकाले आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकले गाउँपालिका भित्रका सहकारी संघस्था र लघुवित्त संस्थाहरुको आर्थिक कारोवार बन्द गर्ने समेत निर्णय गरेको छ ।
सर्वदलिय बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष डिल बहादुर कार्की, नेपाली काँग्रेसका सभापति ज्ञामनाथ कंडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्ष्मण पुन, गाउँपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।











