
बागलुङ, १५ जेठ ।
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका बागलुङ नगरपालिका–१३ पैयुपाटाका २३ बर्षिय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनलाई संक्रमण नभएको पुष्टि भएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका क्वारेन्टाइन तथा कोरोना नियन्त्रणका फोकल पर्सन दिनेश जिसीले जानकारी दिनुभयो ।
भारतदेखि आएर मंगलबार विहान बानपा–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका उनलाई उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा राती आइसोलेसनमा भर्ना गरिएको थियो ।
उनी भारतको दिल्लीबाट तीन दिन लगाएर मंगलबार बागलुङ आइपुगेका थिए ।
युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनलाई पुनः रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको अस्पतालका धौलागिरी अस्पतालका जनरल फिजिसियन डाक्टर प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।
युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो पनि नभएकोले विदेशबाट फर्केको १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने मान्यता अनुसार पुनः रामरेखा क्वारेन्टाइनमा पठाउन लागिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले बताउनुभयो । उहाँले विदेशबाट आएको ५ दिनमा पिसिआर परीक्षण गरिनुपर्ने भएपनि उनलाई ज्वरो देखिएकोले एक दिनमै गरिएको र ५ दिनपछि पुनः परीक्षण गरिने बताउनुभयो ।










