
बागलुङ, १४ जेठ ।
भारतबाट गृह जिल्ला बागलुङ फर्किएका ५ सय १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार बुधबारसम्म भारतदेखि आएका बागलुङका १० पालिकाका ५ सय १५ जना क्वारेन्टाइनमा राखिएको जनाएको छ ।
जैमिनी नगरपालिकामा १२ जना, काठेखोला गाउँपालिकामा २२ जना, बरेङ गाउँपालिकामा ४ जना, बडिगाड गाउँपालिकामा १०७ जना, गल्कोट नगरपालिकामा ५० जना, ताराखोला गाउँपालिकामा १६ जना, निसीखोला गाउँपालिकामा १२४ जना, तमानखोला गाउँपालिकामा १४ जना, ढोरपाटन नगरपालिकामा १३३ जना र बागलुङ नगरपालिकामा ३४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
यस्तै बागलुङका ९२ जनाको स्वाब परीक्षणमा बुधबार ६ जनालाई संक्रमण पुष्टि भएको छभने ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले संक्रमित सवै भारतदेखि आएका र भैरहवाबाट जेठ ९ गते एउटै बसमा बागलुङ आइपुगेको जानकारी दिनुभयो ।
प्रमुख गुरौले गल्कोट नगरपालिकाका ४ जना, तमानखोला गाउँपालिकाका १० जना, ढोरपाटन नगरपालिकाका ८ जना, धौलागिरी अस्पतालमा ४५ जना, धौलागिरी प्राविधिक शिक्षालयमा ९ जना, जैमिनी नगरपालिकामा ४ जना र बडिगाड गाउँपालिकामा ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।










