
बागलुङ, १३ जेठ ।
बागलुङ नगरपालिकाको २ वटा क्वारेन्टाइनमा बस्नेहरुलाई युवाहरुले खाना खुवाउन थालेका छन् । नगरपालिकाले खाद्यान्नको व्यवस्था गरिदिने र युवाहरुले पकाएर खुवाउन सुरु गरेका हुन् ।
बागलुङ नगरपालिकाको वडा नम्बर १ बाङ्गेचौरमा रहेको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइन र वडा नम्बर ४ द्वारेगौडामा रहेको धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई बानपा–१ का वडासदस्य सुर्य लामिछाने र बानपा–१ का स्थानिय राहुल बोहोराको टोलीले खाना पकाएर खुवाउन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले रामरेखाको क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउँदै आएमा पनि अबदेखि नखुवाउने भनेर खाना दिन छोडेपछि युवाहरुले नगरपालिकासँग समन्वय गरि मग्लबारदेखि खाना खुवाउन सुरु गरेका हुन् ।
‘क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने कोहि भएन भन्ने थाहा भएपछि हामीहरुले नगरपालिकालाई खाद्यान्न उपलब्ध गराइदिन भनेर पकाएर खुवाउन सुरु गरिएको हो,’ वडासदस्य लामिछानेले भन्नुभयो–‘अहिले सवै मिलेर रोगसँग लड्ने बेला एकले अर्कोलाई देखाएर कसैलाई भोकै राख्नुहुँदैन ।’ उहाँले आफुहरुले खाना पकाएर खुवाउन थालेपछि अरु युवाहरुले साथ दिएको बताउनुभयो ।
मंगलबार रामरेखा क्वारेन्टाइनमा रहेका १९ जना र धौलागिरी प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका ९ जनालाई खाना खुवाएको बानपा–१ का युवा राहुल बोहोराले जानकारी दिनुभयो ।
नेपाल सरकारको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन सचालन तथा व्यवस्थापन गर्न बनेको मादण्ड–२०७६ अनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु, स्वास्थयकर्मी र सुरक्षाकर्मीहरुको लागि खानपिन सहितको वासस्थान एवं क्वारेन्टाइनस्थलभित्रको बन्दोबस्ती नेपाली सेना वा नेपाली सेनाले तोकेको निकायको जिम्मा रहने बताइएको छ । तर, बागलुङमा खाना खुवाउँदै आएको प्रहरी प्रशासनले जनशक्ति कम भएकोले नसक्ने भन्दै खाना खुवाउन बन्द गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘पहिलेका एसपि नवराज भट्टले खाद्यान्नको व्यवस्था गरिदिनु खाना खुवाउँछौं भन्नुभएकोले प्रहरीले खाना खुवाएको थियो,’ नगरप्रमुख पौडेलले भन्नुभयो–‘अहिले आउनुभएको नयाँ एसपि शारदाप्रसाद चौधरीले जनशक्ति कम भएकोले खाना खुवाउन नसक्ने बताएकाले हामीले छुट्टै व्यवस्था गरेका हौं ।’
निर्देशिकाको पालना नगरि सुरक्षा निकाय तर्किएपछि स्वयंसेवक परिचालन गरि खाना खुवाउन थालेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डापाणी शर्माले बताउनुभयो । उहाँले नगरपालिकाले खाद्यान्न उपलब्ध गराएपछि प्रहरी प्रशासनले खाना पकाएर खुवाउँदै आएपनि अहिले माथिको आदेश र आफुसँग जनशक्ति नभएको भन्दै खाना खुवाउन बन्द गरेपछि आफुहरुले खुवाउन लागेको बताउनुभयो ।
यता, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले नेपाली सेनाको तर्फबाट खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राख्दाको खर्च र कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषबाट नेपाली सेनालाई स्वधभर्ना गर्ने अवस्था मिलाउने र स्थानिय रुपमा स्थापना भएका क्वारेन्टाइनहरुको खाना खर्च तोकिएको मापदण्डको आधारमा सम्बन्धित प्रदेश सरकार तथा स्थानिय तहले स्थापना गरेको कोषबाट व्यहोर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले सुरुमा बागलुङ नगरपालिकामा मात्र क्वारेन्टाइन रहेकाले प्रहरी प्रशासनले खुवाएपनि अहिले सवै पालिकामा क्वारेन्टाइन निर्माण भइसकेकाले त्यहाँको सुरक्षाको लागि प्रहरीहरु खटाउँदा जनशक्तिको पनि अभाव भएको बताउनुभयो ।










