
सुरेश छन्त्याल
बागलुङ, १२ जेठ ।
जिल्लाको गलकोट नगरपालिका—१० पाण्डबखानीमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन निर्माणमा खटिएका कामदारले चार वर्ष पुग्दा समेत ज्याला पाएका छैनन् ।
रविना कन्सट्रक्सन प्रालिद्वारा निर्माण सम्पन्न भएको उक्त भवनको निर्माणमा खटिएका स्थानीय कामदार, सामान दिने व्यापारी, खाजा खुवाउने होटेल लगायत व्यक्तिहरुको पैसा नतिरेको हो ।
२०७६ असोज १६ मा निर्माण सम्पन्न भएर हस्तान्तरण भएको उक्त भवनको अझै पनि काम गरेको रकम नपाएको स्थानीय कामदार हेमन्त श्रीसले गुनासो गरे । ‘यो भवन बनाउँदा हामीले गरेका कामको कत्ति पनि ज्याला पाएका छैनौं,’ उनले भने,‘पैसा माग्या दिन्छु दिन्छु भन्छ तर दिँदैन ।’ भवन निर्माा सुरु भएको चार वर्ष हुँदा पनि एक पैसा नपाएको अर्का कामदार उमेश विकले दुःखेसो पोखे ।
‘२०७३ सालबाट काममा लागेका हौं, त्यही बेला देखि एक पैसा हामीले पाएका छैनौं,’ विक भन्छन्,‘निर्माण पूरा भएर हस्तान्तरण भएको पनि एक वर्ष पुग्यो । हामीले चार वर्षदेखिको कामको ज्याला पाएनौं ।’ स्वास्थ्य मन्त्रालयको एक करोड ७७ लाखमा उक्त स्वास्थ्यचौकी भवन निर्माण भएको थियो । निर्माण कम्पनीले स्थानीय कामदार र व्यवसायीको रकम नदिएपछि उनीहरुले वडा कार्यालयमा गएर सहयोग गरिदिन वडाध्यक्षलाई आग्रह गरेका छन् ।
निर्माणमा खटिएका ५० भन्दा बढि स्थानीय ज्यामीले आफ्नो ज्याला नपाएका हुन् । गलकोट नगरपालिका—१० का वडाध्यक्ष तिलक घर्तीले निर्माण जिम्मा लिएको कम्पनीको प्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि सहजीकरण गर्ने बताए । ‘भवन त गतवर्ष नै हस्तान्तरण भएको हो, अहिले पनि कामदारले ज्याला पाईएन भनेका छन्,’ उनले भने,‘कम्पनीको प्रतिनिधिलाई बोलाएर छलफल गरेर उहाँहरुको ज्याला दिलाउने प्रयासमा लाग्छौं ।’ निर्माण कम्पनी रविना कन्सट्रक्सन प्रालिले प्रतिनिधि बसन्त केसी मार्फत सबैको ज्याला दिएको जनाएको छ ।
कम्पनीबाट ज्यामीको ज्याला भनेर रकम लिए पनि केसीले कामदारलाई नदिएको बुझिएको छ । यसबारे बुझ्दा उनले अबको तीन महिनामा सबैको रकम दिने बताएका छन् । ‘केही समस्याहरुका कारण दिन नसकेको हो,’ केसीले भने,‘अबको तीन महिनामा म जसरी पनि उहाँहरुको रकम दिन्छु । तीन महिना भित्र दिन नसके जस्तो सुकै कारबाही भोग्न तयार छु ।’










