
बागलुङ, १२ जेठ ।
काठेखोला गाउँपालिका–६ विहुँले साविकका ४ वटै वडामा १० बेडको क्वारेन्टाइन बनाउने भएको छ ।
वडा कार्यालयको आयोजनामा आईतबार बसेको राजनीतिक दल, कोरोना व्यावस्थापन समुह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले साविकका ४ वटै वडामा १०/१० वेडका क्वारेन्टाइन बनाउने निर्णय गरेको वडाअध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो । रोजागरीका लागि छिमेक देश भारत गएकाहरु घर फर्किन थालेपछि काठेखोला गाउँपालिका–६ विहुँले कोरोना संक्रमण रोकथामको लागि क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
वडामा रहेका विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गर्ने र क्वारेन्टाइनमा बस्ने व्यक्तिले खाना र बस्नको व्यवस्था गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै क्वारेन्टाइनमा रहँदा सम्म सेनिटाइजर, माक्स, साबुन, बाल्टी, ग्लोब लगायतका स्वास्थ्य सामाग्रीहरु पालिका मार्फत उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष कंडेलले बताउनुभयो ।
बैठकले क्वारेन्टाइनको वयवस्थापनको लागि विद्यालयका अध्यक्षको संयोजकत्व रहने गरि सहसंयोजक प्रधानाध्यापक र समितिका सवै सदस्य र १ जना जनप्रतिनिधि पदेन सदस्य रहने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ । क्वारेन्टाइनको रेखदेख र सुरक्षाको लागि समुदायका परिवारबाट पालोको व्यवस्था गर्ने निर्णय गरिएको वडाअध्यक्ष कंडेलले जानकारी दिनुभयो ।











