
बागलुङ, ११ जेठ ।
रोजागरीका लागि छिमेक देश भारत गएकाहरु घर फर्किन थालेपछि काठेखोला गाउँपालिका–२ भीमापोखराले कोरोना संक्रमण रोकथामको लागि थप सजकता अपनाएको छ ।
वडा कार्यालयले वडाभित्र सिल गर्नुको साथै क्वारेन्टाइन निर्माण र व्यस्थापनलाई तिव्रता दिएको हो ।
विदेशबाट घर फर्किनेहरुको संख्या वृद्धि हुन लागेपछि कोरोना संक्रमण फैलिन नदिन आइतबार रातिदेखि लकडाउन अवधिभर सिल गरिएको वडाअध्यक्ष विद्यापति शर्मा जानकारी दिनुभयो ।
लकडाउन अवधिभर वडाका मुख्य नाकाहरु बन्द गर्ने, खाद्यन्न पसल, निर्माण सामाग्री ढुवानी गर्ने सवारी र एम्बुलेन्स तथा खाद्यन्न धुवानि गाडी बाहेक अरु गाडी तथा मोटर साईकल सचालनमा रोक लगाउने तथा जथाभावी हिँड्नेलाई कारवाही गर्ने वडाअध्यक्ष शर्माले जानकारी दिनुभयो ।
भीमापोखरा प्रवेश गरिने नाकामा स्वयंसेवक खटाएर लकडाउनलाई पूर्ण रुपमा पालना गराउने वडा कार्यालयले निर्णय गरेको छ ।
वडा कार्यालयले लकडाउन अवधिभर पास विनाका कुनै पनि सवारी साधन संचालनमा आएमा र एम्बुलेन्स, खाद्यान्न बोक्ने सवारीमा यात्रुहरु वडाभित्र प्रवेश गर्न खोजेमा प्रहरीको समन्वयमा लकडाउन अवज्ञा अन्तरगत कारवाही अगाडी बढाउने वडाअध्यक्ष शर्माले बताउनुभयो ।
यस्तै भीमापोखराका साविकका वडामा १० बेडको क्वारेन्टाइन निर्माण सुरु भएको छ । आईतबार साविकको वडा नम्बर ९ को सामुदायिक भवन र डोहेरीमा रहेको विद्यालयमा गरी १० बेडको क्वारेन्टाइन निर्माण प्रक्रिया सुरू भएको छ भने शिवालय आधारभूत विद्यालयमा थप १० बेडको क्वारेन्टाइन निर्माण गर्न स्थानियसँग वडा कार्यालयले समन्वय गरेको छ । वडा भित्र क्वारेन्टाइन निर्माणको लागि प्रेम केसीको सदस्यतामा ९ सदस्य क्वारेन्टाइन निर्माण समिति गठन गरिएको छ । लकडाउनको पुर्ण कार्यान्वयन गरि महामारिबाट आफु पनि वच्न र अरूलाई पनि बचाउन आग्रह गर्नु भएको छ ।
महामारिलाई कम आँकलन गर्दा परिस्थिति नियन्त्रण बाहिर जान सक्ने बताउँदै वडाअध्यक्ष शर्माले सबै सचेत र सजग हुनु पर्नेमा जोड दिनुभयो ।










