
जाजरकोट, ११ जेठ ।
शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको आक्रमणपछि बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका ६ युवामध्ये एक जनाको शव सल्यानस्थित भेरी नदिको किनारमा भेटिएको छ ।
नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर शनिबार साँझ चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए । समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए ।
प्रहरीले समूहका १२ जनालाई नियन्त्रणमा लिएपनि ७ जना बेपत्ता देखिएपछि शनिबार राति नै खोजी सुरु गरेको थियो । राती साढे १० बजे प्रेमि भनिएका नवराजको शव घटनास्थलबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको भेरी नदीको पुलमुनि भेटिएको थियो ।
नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको जनाइएको छ । प्रदेश-६ प्रहरी प्रमुख बसन्तराज पन्तले बेपत्ता अन्य पाँच जनाको पनि खोजी कार्य जारी रहेको बताए । दुई वटा शव भेरी नदीमा भेटिएकाले नदीलाई केन्द्रित गरी प्रहरीले खोजी अगाडि बढाएको छ ।
‘खोलामा आफैँ हाम फालेका हुन् कि उनीहरुलाई खोलामा फालिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ’, पन्तले भने । पश्चिम रुकुम प्रहरीले केटा पक्षका सबैलाई जाजरकोट प्रहरीलाई बुझाएको र केटी पक्षलाई बोलाएर सोधपुछ भइरहेको जनाएको छ ।
‘हामीले हालसम्म कसैलाई पनि पक्राउ गरेका छैनौँ । केटीका बाआमा र स्थानीय जनप्रतिनिधिलाई आज बोलाएर सोधपुछ गरिएको छ’, पश्चिम रुकुमका एक प्रहरी अधिकारीले भने ।
deshsanchar









