
बागलुङ, ११ जेठ ।
थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ ।
आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीमा थप ६ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए ।









