बागलुङ, १० जेठ ।
लकडाउनकाे कारण शैक्षिक संस्था लामाेदेखि बन्द भए पछि बागलुङको काठेखोला गाउँपालिकाले बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई घरमा बसेर अध्ययन गर्न मिल्ने पुस्तक वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक बन्दबन्दीमा रहेकाले विद्यालयहरु नखोल्दा यस वर्षको शैक्षिकसत्र सुरु हुन नपाएको अवस्थामा विद्यार्थीहरुलाई अभिभावकको सहयोगमा घरमै बसेर अध्ययन गर्न मिल्ने पुस्तक वितरण गरेको हो ।

गाउँपालिकाले हाल बन्द भएका ५६ सामुदायिक विद्यालय र ४२ वटा बालविकास केन्द्रमा रहेका ३ कक्षा सम्मका १ हजार ६ सय ११ जना बालबालिकाको लागि घरमा बसेर अध्ययन गर्न मिल्ने अध्ययन सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । उहाँले बालबालिकाहरु घरमा बसिरहँदा अध्ययनमा समस्या भएकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशन गरेको अभिभावकहरुको सहयोगमा बालबालिकाको लागि घरमा नै गराउन सकिने सिकार्य क्रियाकलाप सम्बन्धी पुस्तक वितरण गरिएको बताउनुभयो ।

अध्यक्ष थापाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई उक्त पुस्तक बमोजिम अध्यापन गराउन अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाको शिक्षा अधिकृत रमा उचई ठकुरीले लकडाउनको समयमा विद्यालय बन्द भएको र बालबालिकाको पढाईलाई निरन्तरता दिन र थप सिर्जनात्मक बनाउँदै शिक्षामा जागरित गराउन पुस्तक वितरण गरिएको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here