बागलुङ, ७ जेठ ।
बागलुङ बजारमा रहेका इन्स्योरेन्स कम्पनीहरु हप्तामा दुई दिन खुल्ने भएका छन् ।
देश लकडाउनमा गुज्रिरहेको अवस्थामा बजारमा रहेका सवै इन्स्योरेन्स कम्पनीहरु एकैसाथ खुल्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले हप्तामा दुई दिन खुल्न निर्देशन जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै जिल्लाका सम्पूर्ण इन्स्योरेन्स कम्पनीहरुले आईतबार र बिहिबार सेवा प्रवाह गर्ने जनाएको छ । बागलुङ बजारमा रहेका ३० ओटा लाईफ र ननलाईफ इन्स्योरेन्स कम्पनीहरु हप्तामा दुई दिन १० बजेदेखि १ बजेसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
बागलुङमा १८ ओटा लाईफ र १२ ओटा ननलाईफ इन्स्योरेन्स रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बागलुङ शाखा प्रमुख प्रेम प्रसाद पौडेल (नारायण)ले जानकारी दिनुभयो ।
बजारमा दिनभर खाद्यान्न पसल र वित्तिय संस्थाहरु खोल्दा अनावश्यक रुपमा मानिसको आवतजावात बढेपछि यस अगाडी नै बजारका खाद्यान्न, तरकारी र फलफूल पसलहरुलाई विहान र बेलुका खोल्ने तथा वित्तिय संस्थाहरुलाई आलोपालो खोल्ने सरोकारवालाहरुको निर्णय भएको छ ।










