
बागलुङ, ६ जेठ ।
बागलुङ नगरपालिकाले कैलालीबाट बागलुङ आएका ३ जनालाई क्वारेन्टाइनमा राखेको छ ।
नेपाल–भारतको सिमामा १ महिना अलपत्र परेका ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिका र तमानखोला गाउँपालिकाका १६ जनासँगै कैलालीबाट बागलुङ नगरपालिका–१० भकुण्डेका ३ जना मंगलबार विहान बागलुङ आइपुगेका हुन् ।
नगरपालिकाका तीन जनालाई बा.न.पा.–४ मा रहेको धौलागिरी प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टमा राखिएको नगरपालिकाका क्वारेन्टाइन तथा कोरोना नियन्त्रणका फोकल पर्सन दिनेश जिसीले जानकारी दिनुभयो । उहाँले एकै परिवारका रहेका तीन जना नगरपालिकालाई जानकारी नगराई भारतबाट आएकासँगै बसमा आएको बताउनुभयो । उनीहरुले सुत्केरी भेट्न गएर फर्किएको जनाएको जिसीले बताउनुभयो ।
फोकल पर्सन जिसीले उनीहरु एकै परिवारका सदस्य श्रीमान, श्रीमती र उनीहरुकी ४ बर्षिया छोरी रहेको बताउनुभयो । उनीहरुको पिसिआर परीक्षण गरिने छ । तीनै जनाको क्वारेन्टाइनमा रहेको ४, ५ दिनमा पिसिआर परीक्षण गरिने फोकस पर्सन शर्माले जानकारी दिनुभयो ।
कैलालीबाट आएका अन्य १६ जनालाई जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको सम्वन्यमा सम्बन्धित पालिकामा पठाईएको छ । उक्त टोलीमा गल्कोट नगरपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाका ८ जना र तमानखोला गाउँपालिकाका २ जना रहेका छन् । उनीहरुलाई सम्बन्धीत पालिकाले क्वारेन्टाइनमा राख्ने छ ।










