
बागलुङ, ५ जेठ ।
नेपाल–भारतको सिमामा १ महिना रोकिएका ढोरपाटन र गल्कोट नगरपालिका र तमानखोला गाउँपालिकाका १६ जनाको आज आउँदैछन् । आईतबार आउने भनेका उनीहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेर धनगढी जिल्ला प्रशासनले आज पठाएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
आइतबार नेपाल भित्र्याइएका उनीहरुको -यापिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएपछि आज बागलुङ पठाएको जानकारी आएको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँहरु बागलुङ आउँदै गरेका १६ जनामा ढोरपाटन नगरपालिकाका ८ जना, गल्कोट नगरपालिकाका ६ जना र तमानखोला गाउँपालिकाका २ जना रहेको जानकारी दिनुभयो । ‘हामीलाई जानकारी आएपछि सवै पालिकालाई आधिकारीक जानकारी गराएका छौं,’ सूचना अधिकारी पन्तले भन्नुभयो–‘१६ जनालाई सम्बन्धित पालिकाले २१ दिन क्वारेन्टिनमा राखेर घर पठाउनुपर्नेछ ।’ भारतबाट आएका उनीहरुको आरडिटि नेगेटिभ आएपनि एक ठाउँबाट अर्को ठाउँमा जाँदा सरकारले तोकेको समयसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
सूचना अधिकारी पन्तले नेपाल–भारतको सिमाबाट धनगढी, भैरहवा, बाँके लगायतका जिल्लामा बागलुङका ४० जनाको उद्धार गरेको जानकारी आएपनि उनीहरुको कुन स्थानका हुन भन्ने अझै आधिकारीक जानकारी नआएको बताए ।










