
बागलुङ, ४ जेठ ।
बागलुङ नगरपालिका–१ रामरेखाको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
बाहिरी जिल्लाबाट नगरपालिकामा आएका २२ जनालाई क्वारेन्टाइनमा राखि कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाको नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा रहेका १४ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिकाको स्वाब संकलन गरिएको नगरस्वास्थ्य प्रमुख खनालले बताउनुभयो ।
क्वारेन्टाइनमा भैरहवाबाट आएका ९ जना बानपा–११ रायडाँडाका, बुटवलबाट आएका ३ जना बानपा–९ तित्याङका, भरतपुरबाट आएका १ जना बानपा–३ का र २ जना बानपा–१ र २ का सवारी चालक रहेका छन् । यस्तै अन्य ७ जना बागलुङमा खाद्यान्न ल्याएका ट्रक चालक रहेको बानपा–१ का वडासदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।
संकलित स्वाब परीक्षणको लागि भोली (सोमबार) विहान पोखरा स्वास्थ्य बिज्ञान प्रयोगशालामा पठाइने नगरस्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।










