लकडाउनमा रेशमा विकास निर्माणको काम जारी

बागलुङ, ४ जेठ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सुरु भएका छन् । वडामा रहेका संघ, प्रदेश र गाउँपालिका मातहतका योजनाहरुको काम सुरु गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण एक महिना बढि समयदेखि अवरुद्ध विकास निर्माणका काम विशेष सतर्कताका सथा सुरु गरिएको वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । रेशमा लकडाउनकै बीच अहिले दैनिक रुपमा सडक, भवन निर्माण, पुल, पदमार्ग, सिचाई योजनाको काम भइरहेको छ ।
वडाअध्यक्ष लामिछानेले वडा भित्र रेश नुनथला माध्यमिक विद्यालयको ४ कोठे भवन, एक्लेघाटको मोटेरेबल पुल, विहुँजल्जला हुँदै रेशको एक्लेघाटसम्मको सडकको कालोपत्रे, रेश मदनभण्डारी पदमार्ग, ढोट सांखोला सिचाई योजनाका काम सुरु गरिएको बताउनुभयो । उहाँले यस वर्षसम्पन्न गर्नैपर्ने र बहुवर्षे योजनाहरुको पनि काम पुनःसुचारु गरिएको बताउनुभयो ।
प्रदेश सरकारको योजना रहेको रेश नुनथला माविको ४ कोठे भवनको काम स्थानिय मजदुरहरु लगाएर सुरु गरिएको छ । उक्त योजना ७० लाख रुपैयाँको रहेको छ । यस्तै २०७८ माघसम्म सम्पन्न गर्नुपर्ने एक्लेघाटको मोटेरेबल पुलको ३०÷४० प्रतिशतको काम सम्पन्न भएको वडाअध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँले समयमै काम सम्पन्न गर्नको लागि निर्माण व्यवसायीसँग सल्लाह गरि लकडाउनको विचमै काम सुचारु गरिएको जानकारी दिनुभयो ।
यस्तै विहुँ जल्जाला हुँदै एक्लेघाटसम्मको मोटरबाटोमा कालोपत्रेको काम यसवर्षको असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । ४ सय मिटर रहेको उक्त कालोपत्रेको काम समयमै सम्पन्न गर्नको लागि तिब्रगतिमा भइरहेको छ । उक्त कालोपत्रे गण्डकी प्रदेश मार्फत ८० लाखको लागतमा निर्माण भइरहेको छ । ढोटसांखोला सिचाई योजनाको काम ४० प्रतिशत सकिएको वडाअध्यक्ष लामिछानेले जानकारी दिनुभयो । प्रदेश सरकारको योजना रहेको उक्त सिचाई योजना २५ लाखको लागतमा निर्माण भइरहेको छ ।
यस्तै संघिय सरकारको योजना रहेको रेश मदनभण्डारी पदमार्गको काम समेत लकडाउनकै अवधिमा संचालन गरिएको छ । संघिय सरकारको २५ लाखको लागतमा निर्माण भइरहेको उक्त पदमार्गको ७० प्रतिशत काम सम्पन्न भइसकेको वडाअध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँले समयमै सम्पन्न गर्नको लागि स्थानिय मजदुर प्रयोग गरि काम सुचारु गरिएको बताउनुभयो ।
वडाअध्यक्ष लामिछानेले विकास निर्माणको कामको लागि अहिले स्थानिय मजदुरहरुनै प्रयोग गरिएको जानकारी दिनुभयो । ‘अहिले मजदुरको लागि समस्या छैन,’ उहाँले भन्नुभयो–‘निर्माण सामाग्री ढुवानीको लागि समस्या रहेकोमा अहिले जिल्ला प्रशासनसँग समन्वय गरि त्यसको अन्त्य गरिएको छ ।’ विकास निर्माणमा स्थानिय मजदुरहरुले जाली लगाउने, ग्राबेल गर्ने लगायतको काम गरिरहेको वडाअध्यक्ष लामिछानेले बताउनुभयो ।
गाउँपालिकाले लकडाउनको अवस्थामा सामाजिक दुरि कायम गरि सतर्कताका साथ विकास निर्माणको काम सुचारु गर्न निर्देशन जारी गरेको थियो । गाउँपालिका भित्र यस वर्ष सम्पन्न गर्नुपर्ने र बहुबर्षिय योजनाहरु स्थानिय मजदुर र बाहिरि जिल्लाबाट भएपनि मजदुर ल्याएर सतर्कताका साथ सुरक्षित भइ विकास निर्माणको काम गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिका भित्र विकास निर्माणको लागि निर्माण सामाग्री ढुवानीलाई जिल्ला प्रशासनसँग गाउँपालिकाले समन्वय गरिदिने समेत जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here