
बागलुङ, ४ जेठ ।
काठेखोला गाउँपालिकाले सम्पर्क नगरि भारतबाट गाउँपालिकामा प्रवेश गरेमा कारवाही गर्ने बताएको छ ।
काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले शनिबार विज्ञप्ती प्राकाशित गर्दै भारतसँगका सिमाना जोडिएका जिल्लाबाट र भारतबाट गाउँपालिकालाई जानकारी नै नगराई आएमा कानुन बमोजिम कार्वाही गर्ने जनाउनुभएको छ ।
लकडाउनको समयमा भारतबाट लुकिछिपि नेपाल भित्रिएकाहरुमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले समन्वय विना प्रवेश गरेमा कारवाहीको चेतवनी दिएको हो ।
गाउँपालिका अध्यक्ष थापाका अनुसार भारतदेखि र भारतको सिमा जोडिएका जिल्ला गाउँपालिकामा आउन लागेका नागरिकहरुले सम्बन्धित वडाअध्यक्ष र गाउँपालिकामा जानकारी गराई आफ्नो व्यक्तिगत विवरण बुझाई अनुमति लिएर मात्र आउनुपर्ने बताउनुभयो । उहाँले लकडाउनको अवधिमा गाउँपालिकाका नागरिक कुनै स्थानमा अलपत्र परेको सम्पर्क गर्न समेत आव्हान गर्नुभएको छ ।
भारतदेखि नेपाल आई वा कुनै जिल्ला अलपत्र परेको अवस्थामा नेपाल सरकारले घोषणा गरेको लकडाउनको नियम विपरित नहुने गरि सम्बन्धित निकायहरुसँगको समन्वयमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ल्याउनको लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यस्तै लकडाउनको समयमा गाउँपालिकामा जिल्ला बाहिरबाट प्रवेश गरेको खण्डमा वडा कार्यालय वा वडाअध्यक्षलाई जानकारी गराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन वा सेल्फ होम क्वारेन्टाईनको नियमहरु पालना गर्ने गरी र स्वघोषणा पत्रमा सहिछाप गरी सुरक्षित रुपमा बस्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।











