
बागलुङ, ३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर पार्टी कार्यालयले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएको छ ।
नगर पार्टी कार्यालयको शनिबार बसेको बैठकले भारतले सडक निर्माण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेलाई कुटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने बताएको छ । 
नेकपा बागलुङका संयोजक तथा प्रदेशसभा सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेकपा जिल्ला कार्यालय सदस्य कृष्ण पाठक र लाल थापाको समेत उपस्थिति रहेको बैठकमा बागलुङ नगरपालिकाको आगामि बजेट, जनप्रतिनिधिहरुको काम र भारतले मिचेको नेपाली भूमि र कोरोना भाइरस विरुद्ध कसरी लड्ने बारेमा छलफल गरिएको नगर अध्यक्ष धनबहादु परियारले जानकारी दिनुभयो ।
उहाँले भारतले नेपाली भुमिमा सडक निर्माण गरेकोमा खेद प्रकट गर्दै तुरुन्त फिर्ता गर्नुपर्ने निर्णय गरिएको बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिकाको आगामि बजेट कृषि, स्वास्थ्य, स्वरोजगार र शिक्षामा केन्द्रित हुनुपर्ने र जनप्रतिनिधिहरुको काम पारदर्शि हुनुपर्ने बारेमा छलफल गरिएको छ । बैठकले विश्वाब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउन सरकारले गरेको निर्णयको पूर्ण रुपमा पालना गर्ने र गराउन सहयोग गर्ने निर्णय गरेको नगरअध्यक्ष परियारले जानकारी दिनुभयो ।
बैठकमा नगर पार्टी कार्यालयका पदाधिकारी र नेकपा निकट जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।










