
बागलुङ, २ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा शुक्रबार ५५ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्नको लागि आजदेखि गल्कोटमा स्वाब संकलन गरिएको हो ।

मजदुरहरुको सम्पर्कमा रहेका गल्कोटबासी, जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य निर्देशानलय पोखरा, धौलागिरी अञ्चल अस्पताल बागलुङ र जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकहरुले स्वाब संकलन सुरु गरेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

नगरप्रमुख गैरेका अनुुसार बैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका १२० जना गलकोटबासीहरुको पिसिआर परिक्षण गरिने छ ।
संकलित स्वाब परीक्षणको लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय कास्की पठाइने छ ।
कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्मानाधीन अस्पताल, ग्योजहरु, फर्निचर उद्योग, हेयर कटिङमा काम गर्थे । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ ।
गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै सिल गरिएको छ ।










