
बागलुङ, २ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा १२० जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भयपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गरिन लागेको गलकोट नगरपालिकका नगरप्रमुख भरत शर्मा गैरे जानकारी दिनुभयो ।
गैरेका अनुुसार बैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका १२० जना गलकोटबासीहरुको पिसिआर परिक्षण गरिन लागेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आजदेखि ३ दिनसम्म स्वाब संकलन गरी प्रादेशिक स्वास्थ्य निर्देशनालय कास्की पठाइने छ । दिनमा ३० देखि ३५ जना सम्मको स्वाब संकलन गर्न सकिने गुरौले बताउनुभयो ।
कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्मानाधीन अस्पताल, ग्योजहरु, फर्निचर उद्योग, हेयर कटिङमा काम गर्थे । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ ।
गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै लकडाउनलाई कडा पारेको छ ।










