
बागलुङ, ३१ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देहीमा गरिएको परिक्षणमा बुधबार साँझ २४ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले रुपेन्देही जिल्लाका १२ जना, कपिलबस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । सहप्रवक्ता डा. अधिकारीले रुपेन्देहीमा ९ जना पुरुष र ३ जना महिला, कपिलबस्तुमा ८ जना पुरुष, पर्सामा २ जना पुरुष र १ जना महिला र नवलपरासीमा ३६ बर्षिय एक जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै आज दिउँसो धुलिखेल अस्पतालको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ बर्षिय पुरुष र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका–५ का २२ बर्षिय पुरुषमा भाइरसको संक्रमण पुष्टि भएको थियो ।
नेपालमा हालसम्म ३५ जना संक्रमित निको भइसकेका छन् ।











