
बागलुङ, ३० बैशाख ।
नेपाल शिक्षक संघ बागलुङले स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको छ । संघको ३१ औं स्थापना दिवसको सन्दर्भमा संघको कार्यालय अगाडी लोकतान्त्रिक चोकमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले विश्वभर महामारीको रुपमा फैलिको कोरोनाको कहरका बीच पनि विद्यार्थीलाई उज्यालो भविष्य देखाउन शिक्षकहरु चुक्न नहुने बताए । ‘अहिले विश्वमै कोरोनाले संकट निम्त्याएको छ, लक डाउनका कारण विद्यालयमा गएर पठन पाठन गर्ने अवस्था छैन,’ थापाले भने,‘तथापी बैकल्पिक माध्यमबाट विद्यार्थीहरुसंग जोडिएर उनीहरुलाई मार्गदर्शन भने गुरुहरु गरिराख्नु जरुरी छ ।’

विश्व मानव समुदायलाई समस्यामा पारेको कोरोना बारे सचेतना जगाउनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले कोरोनाको कारण देखाएर कतिपय स्थानीय तहले सरसल्लाह बिनै शिक्षकहरको तलब कटौती गरेकोमा आपत्ती जनाए ।
‘समस्यामा परेको बेला हामी राज्यलाई सहयोग गर्न तयार छौं,’ उनले भने,‘तर कतिपय स्थानीय तहहरुले कारण नखुलाई र शिक्षकका पेशागत संघ संगठनसंग छलफल नै नगरी शिक्षकको तलब काट्ने काम गरेका छन् । यसमा हाम्रो असहमति छ । हाम्रो काटिएको तलब कहाँ जान्छ भन्ने हामीलाई थाहा हुनुपर्छ ।’ कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ बागलुङकी उपाध्यक्ष सीता शर्माले गरेकी थिईन् ।










