
बागलुङ, २८ बैशाख ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले बागलुङका क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
सिईओ शेरचनले कोरोना महामारीको विचमा अग्रपङ्गतीमा रहेर समाचार संकलन गरिरहेका पत्रकारहरुलाई ५० थान प्रेस ज्याकेट, २ सय थान माक्स र १५ लिटर सेनिटाईटर पत्रकार महासंघ बागलुङ मार्फत आईतबार वितरण गरेका हुन् ।
सिईओ शेरचनले कोरोना महामारीमा नागरिकहरुलाई सुरक्षित रहनको लागि र सकरात्मक समाचार सम्प्रेषणको लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताउँदै जोखिम मोलेर समाचार संकलनमा जुटेका पत्रकारहरुलाई सहज होस् भन्ने उद्देश्यले सामाग्री सहयोग गरेको बताए । उनले आफु जन्मेको ठाउँमा केहि सहयोग गर्ने सोचका साथ स्थानिय तहहरु, स्वास्थ्य संस्था र धौलागिरी अञ्चल अस्पताललाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेको र अझै गर्ने बताए ।

सिईओ शेरचनले नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्थापना गर्न लागेको आधुनिक सूचना केन्द्र निर्माणको सम्पूर्ण जिम्मा लिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सूचना केन्द्रको लागि आवश्यक कम्प्युटर र डेकोरेशनको काम बैंकले गरिदिने बताए ।
पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले कोरोना कहरको विचमा पत्रकारहरुको सुरक्षाको लागि बैंकका सिईओ शेरचनले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष शिरीषले जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि महासंघले सुरक्षा सामाग्रीहरु वितरण गर्दै आएको बताए ।
पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’को संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा निर्माण व्यवसायी कुमार खड्काले बोल्नुभएको थियो ।










