
बागलुङ, २८ बैशाख ।
जैमिनी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा भाग्यदय सामाजिक उद्यमी सहकारी जैमिनी–२ दमेकले आर्थिक सहयोग गरेको छ । सहकारीकी अध्यक्ष भगवती सापकोटाले आईतबार नगरप्रमुख इन्द्रराज पौडेललाई कोषको लागि १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि र नगर भित्रका मजदुरको लागि राहत सहयोगको लागि स्थापना गरिएको राहत कोषमा विभिन्न संघसंस्थाको सहयोग गरिरहेका छन् । कोरोना रोकथाम र लकडाउनको कारण दैनिक ज्यालामजदुरी गरि पेट पाल्ने मजदुरहरुलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकाको राहत कोषमा सहयोग गरिएको सहकारीकी अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नगरप्रमुख पौडेलले नगरपालिकाले कोरोना रोकथामको लागि र मजदुरहरुलाई राहत वितरणको लागि कोषको स्थापना गरेको बताउँदै उक्त सहयोग सहि ठाउँमा सदुपयोग गरिने बताउनुभयो । पौडेलले राहत कोषमा सहयोग गर्न संघसंस्था, व्यवसायी, प्रवासी नेपालीहरुलाई आव्हान गर्नुभएको छ ।
२०७१ सालमा विवाईसी बागलुङको सहयोगमा स्थापना भएको उक्त सहकारीले शेयर सदस्यहरुले उत्पादन गरेका बाख्राहरुलाई बजारीकरणको लागि सहयोग गर्दै आएको छ । ४२२ जना शेयर सदस्य रहेको उक्त सहकारीका शेयर सदस्यहरुलाई पशुबस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजनाले बाख्रा वितरण गरेको थियो ।










