
बागलुङ, २५ बैशाख ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसले अनलाईन कक्षा सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को प्रभावले शिक्षा क्षेत्रसमेत अस्तव्यस्त बन्न पुगेपछि क्याम्पसले पहिलो पटक अनलाईन पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
क्याम्पसका सम्पूर्ण पठनपाठन बन्द रहेको परिस्थितीमा लकडाउनको अवधिसम्म स्नातकोत्तर तहको लागि कक्षा शिक्षणको विकल्पको रुपमा अनलाईन कक्षा सुरु गरेको प्रमुख शर्माले बताउनुभयो ।

क्याम्पस प्रमुख उपाध्यायले विविए स्नातकोत्तर प्रथम र तेस्रो सेमिष्टर सहित स्नातकोत्तर एम.वि.एस प्रथम वर्ष र एमए प्रथम वर्षको अनलाईन कक्षा सुरु गरिएको बताउनुभयो । यस्तै क्याम्पसले केहि दिनदेखि एमएड प्रथम सेमिष्टर र वि.एससी स्नातक प्रथम र दोस्रो वर्षको अनलाईन कक्षा संचालन गर्ने योजना बनाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख उपाध्यायले लकडाउनको कारण कक्षा शिक्षण बन्द रहेकोले विद्यार्थीहरुसँग सम्पर्क गरि उनीहरुको अनुकुल अनुसार अनलाईन कक्षा संचालन गरिएको बताए । उहाँले पहिले कक्षा शिक्षणमा थोरै विद्यार्थी उपस्थित हुने गरेकामा अनलाईन कक्षा मार्फत धेरै विद्यार्थीहरुले शिक्षा लिएको बताउनुभयो । ‘५० जना विद्यार्थी भएको डिग्रीका कक्षामा २०, २२ जना विद्यार्थीहरु उपस्थित हुने गरेका थिए, प्रमुख उपाध्यायले भन्नुभयो–‘अनलाईन कक्षा सुरु गरेपछि ४० जना भन्दा बढी विद्यार्थीहरु सहभागि हुने गरेका छन् । विद्यार्थीहरुको चाहना भएमा अनलाईन कक्षालाई निरन्तरता दिनेछौं ।’ अनलाईन कक्षामा छुटेका विद्यार्थीहरुको लागि पछि छुटै कक्षा संचालन गर्ने क्याम्पसले जनाएको छ ।

क्याम्पसले अन्य कक्षाका विद्यार्थीहरुसँग सम्पर्क गरि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ । विद्यार्थीहरु गाउँमा छन् त्यसैले उनीहरुसँग इन्टरनेटको अवस्था राम्रो भएमा मात्र अनलाईन कक्षा संचालन गरिने प्रमुख उपाध्यायले बताउनुभयो । क्याम्पसले कोरोना भाइरसको महामारीपछि जनजिवन सामान्य नहुँदासम्म अनलाईन कक्षा संचालन गर्ने जनाएको छ । विद्यार्थीहरुलाई घरबाट क्याम्पससम्म आवतजावत गर्न सक्ने अवस्था नहुँदा सम्म अनलाईन कक्षा संचालन गरिने क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।










