
इश्वर गौतम
विश्व मानव जगत कोभिड १९ को सन्त्रासले अस्तब्यस्त बनिरहेको छ । मानवजातिले कयौं बिपत्तिको सामना गर्यो तर यस्तो प्रकारको संकट कहिल्यै भोग्न सायद परेन । महाबिपत्तिको रुप लिएर मानव सभ्यतालाई चुनौती दिइरहेको भारसको संक्रमणबाट बिश्वमा लाखौ मानिसले ज्यान गुमाएका छन् । लाखौ मानिस जीवन मरणको दोसाँधमा छन । बिश्वका शक्तिशाली भनिने राष्ट्रहरुमा समेत महाबिपत्ती बनेर विकराल रुप लिई रहँदा, संक्रमणबाट कसरी बच्ने र यसलाई कसरी परास्त गर्ने भन्ने अन्यौलता र उपयुक्त हतियार के हो नै पत्ता नलाग्नुले सम्पुर्ण मानव जगत हतोत्साहित गरेको छ ।
शक्तिशाली राष्ट्र नै विषम, परिस्थिति सामना गरिरहेका छन् । कोरोनाको परिबन्दमा अलमलिएका छन् । आर्थिक तथा स्वास्थ्य अवस्थाले सम्पन्न राष्ट्रमा नै चरम संकट सिर्जना हुँदा हाम्रो जस्तो अविकसित गरिव राष्ट्रको झन हालत खराव नहुने कुरै रहेन । कोरोना छिट्फुट देखिए र बिकराल रुप नलिए पनि सन्त्रासले जनजीवन कष्टकर बनाएको छ । त्यसमाथी दिनहु प्रकृती पनि बैरी बनेर चोटमाथी चोथ थपेको छ । घाउमा नुनचुक लगाएको छ ।
कसैको मनमा शान्ति छैन । सबैको मुहार मलिन र भाव शुन्य देखिन्छ । दिनहुँ अप्रत्याशित घटना बाहेक केही सुनिदैन । दर्दनाक ह्र्दयबिदारक तस्बिर बाहेक केही देखिदैनन । देखिन्छ त निरासा मलिनता र पिडादायी दुःख, बेदनाका मर्मस्पर्शी भावनाहरु मन थाम्न नसकिने असह्य चित्रहरु । अनि सुनिन्छ त मुटुनै छियाछिया हुने अपत्यारिला, भाव शून्य हुने घटनाहरु । कोरोनाको प्रभाव भन्दा भोको पेट भर्ने खानाको अभाव, लकडाउनको दवाव अनि प्रकृतिको निरन्तर प्रहारले मर्नु न बाच्नु, रुनु न हास्नु भएर भौतारिएका दिनदुखिका पिर ब्यथाहरु जताततै सुनिन्छ । यत्रतत्र सर्वत देखिन्छ । त्यसमाथी खेतिपाति गरेर जीवन निर्वाह गर्नेहरुका लागि पनि प्रकृति बैरी बनिदिएको छ ।
आफ्ना जमिनमा भएका खेतिपाती जस्तै गहुँ, आलु, मसुरो, केराउ जौ लगायत अन्नबाली घर भित्र्याउने अवस्थामा रहेका किसानहरुलाई निरन्तरको असिना पानीले अन्बाली नष्ट पारिदिएको छ । किसानको छातिमा घन बर्साइदिएको छ । रोगको भन्दा भोकको शोकले चिन्तित बनाएको छ । रोगले बरु कसैलाई जित्न सकेको छैन । प्रकृति बैरी वनेर क्षणभरमै गोलि बर्साएझै गरि दिनहु मानिसको ज्यान लिइरहेको छ । हजारौं सर्वसाधारणलाई शोकाकुल पारेको छ । श्रमजीवी हातहरु, कृषकहरु दिनहुँको अविरल बर्षा, असिना, चट्याङबाट बिहान बेलुका हातमुख जोर्ने कुराको जोहो गर्न पाएका छैनन् । चिन्तित बनेर घरमै बस्नुको अर्को बिकल्प छैन । यसरी दिनहुको प्रकृतिले दिने दुःख र लकडाउनको प्रभावले नेपाली आम सर्वसाधारण मर्कामा छन् । उनको पीडा कस्ले सुन्ने कस्ले बुझ्ने । सुनिहाले पनि गरोस कस्ले के ? गर्ने निकायनै संकटमा छ । परिस्थिति जटिल र गम्भीर भएको छ ।
हरियो पासपोर्ट भिरेर परिवारलाई खुसी फर्काउन मुग्लान छिरेका परदेशिको समस्या झन दयनीय बन्दै छ । कोरिनाको प्रभाव र त्यसको असर सबै रास्ट्रमा छ । कहि कतै पनि खुल्ला छैन । परिबारका सबै सदस्यको पेट पालेका ती परदेशी आफ्नै पेट कसरी पाल्ने समस्या छन् । कति प्रदेशी प्रदेशमै कोरोना भाइरसको संक्रमणबाट ग्रसित छन् । छट्पटाउदै लडिरहेका छन । परिबारलागि आवश्यक आयस्रोत जम्मा गर्ने ब्यक्ति प्रदेशमा कोरोनासंग लडिरहदा स्वदेशमा परिवारलाई एकतिर चिन्ताले सताइरहेको छ । अर्को पेट भर्ने गाँस कसरी र कहाँबाट जोहो गर्ने भन्ने चिन्तामा छट्पटिएका छन । त्यहाँमाथी दिनहुको बर्षादले खेतबारीमा फलेको अन्न समेत नष्ट गरिदिएको छ । नेपाली रोगको भन्दा भोकको चिन्ताले पिरोलिएका छन । बिपत्ति पनि एकै चोटी जुधेर आउँदा सबैलाई मर्कामा पारेको छ ।
निम्न आयस्रोत भएका, कृषिलाई नै आफ्नो कर्म बनाएर, हरियो पासपोर्ट त्यागेर खेतीयोग्य जमिन हरियाली बनाएका कृषकको पनि पीडा कम छैन । उनलाई रोगको होइन । असिना पानीले सत्यनाश बनाइदिएको पेट भर्ने आहाराको चिन्ता छ । हात खियाएर गरेको खेती भित्र्याउने मुखैमा पकृति बैरि बनेर सबै सपना उडाएको छ । कोरोना भाइरसले दन्किएको आगोमा प्रकृति बैरी बनेर घ्यु थपिदिएको छ । बिपत्तिको आगोमा घ्यु थपेर कृषकको कर्म सत्यनाश् बनाइरहेको छ ।
२०७७ बैशाख २२ गते प्रकाशित









