बैतडी, २२ बैशाख ।
एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरू खुशी हुँदै स्वदेश फर्किएका छन्‌ । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकापनि स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् ।
कोरोनाको त्रासकाबीच जन्मभूमीमा आउन पाउँदा निकै खुसी लागेको बैतडीको पुर्चौंडी नगरपालिका ८ का उत्तम बोहराले बताए । ‘विदेशी भूमीको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित छौं,’ उनले भने, ‘विपत्ती भोगरे पनि आफ्नै देश फर्कन पाउँदा निकै खुसी लागेको छ ।’
भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि हजारौं नेपालीहरू भारतीय सीमा क्षेत्रका क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । जन्मभूमी फर्कन पाउँदा निकै खुसी लागेको डिलाशैनी गाउँपालिका वडा नं ६ रमेशराम ओडले बताए । मातृभूमीमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे ।
बैतडीको पुर्चौैंडी नगरपालिका ८ का विरेन्द्र पाठकले पनि भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। उनले भने, ‘विदेशीभूमीमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।’
झुलाघाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका मात्रै ७९० जना फर्किएका थिए । झुलाघाट नाका पारी गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए ।
क्वारेन्टाइन अनुगमन तीव्र
सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिकहरु क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिनका सबै ठाउँमा अनुगमन गर्न थालिएको हो ।
अहिलेसम्म सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले निर्माण गरेका क्वारेन्टाइन अनुगमन गरी अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ ।’
समितिले दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्न निर्देशन दिएको र अन्य पालिकाका क्वारेन्टाइनमा राम्रा रहेका जनाएको छ । गत बिहीबार सीमानाका झुलाघाट हुँदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए ।
थाहाखबरबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here