लकडाउन पालना गराउन चोर पुलिस खेल !

बागलुङ, २१ बैशाख ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि मुलुक लकडाउनमा छ । सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेको आज ४१ दिन पुग्यो । सरकारले तोकेको लकडाउन बैशाख २५ गते राती १२ बजेसम्म छ । उक्त समयसिमा नजिकिदै गर्दा बागलुङ बजारमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएको देखिन्छ ।
पछिल्लो समयमा बजारका विना काम सवारी साधन र पैदल हिड्डुल गर्नेहरु बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन सुरु गरेको छ ।

लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाहीको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ती गर्दा समेत बागलुङ बजारबासीहरुले अरुको लागि लकडाउन पालना गरिदिएको जस्तो गरेका छन् । दिनभर खुल्ला जस्तो देखिएको बजारमा ५ बजेदेखि प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजू सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती बढाएसँगै भागाभागको अवस्था सिर्जना भयो ।
प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई समातेर गाडीमा राख्ने गरेपछि सडकमा हिडिरहेका सर्वसाधरणहरु वरपरको पसल भित्र लुकेका थिए । पसल भित्र लुकेका उनीहरु प्रहरी जाँदा साथ पुनः सडकमै हिडिरहेको देखियो ।

कोरोना संक्रमितको संख्या वृद्धि भइरहेकाले लकडाउनलाई कडाइ गर्न अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकृत धिरेन्द्रराज पन्तले खबरवे अनलाईनलाई जानकारी दिनुभयो । उहाँले लकडाउन फितलो भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सैजुको नेतृत्वमा बागलुङ बजारका सबै टोलमा पुगेर स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले अतिआवश्यक सवारी साधनहरु संचालन भइरहेकाले लकडाउन खुल्ला भएको होकी भन्ने सोचका साथ सडकमा लकडाउन उल्लंघन गर्नेहरु बढेको बताउनुभयो । पछिल्लो समय बैंकहरु खुल्ला भएको कारण सामाजिक सुरक्षा भत्ता लिनको लागि र खाद्यान्न किन्न बजारमा आउँदा लकडाउन उल्लंघन गर्नेहरुको बृद्धि भएको पाइएको छ ।
संक्रमितको संख्या बढिरहेतापनि बागलुङका पछिल्लो समय संक्रमित नदेखिदा नागरिकहरुमा त्यसको भय कम हुँदै गएकाले विना काम सडकमा हिड्ने र सवारी साधन चालाउने गरेकाले कारवाही अगाडी बढाएको सूचना अधिकृत पन्तले जानकारी दिनुभयो । उहाँले सोमबार विहानै देखि जिल्ला प्रशासन कार्यालय सहित, नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउनलाई पालना गराउनको लागि अनुगमन गर्ने बताउनुभयो ।

आईतबार लकडाउन उल्लंघन गर्ने १ सय ६७ जना व्यक्तिलाई कारवाही गरिएको छ । उनीहरुलाई पक्राउ गरि धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा सचेतना दिएर छोडिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो । आजै ५ ओटा चारपाङ्ग्रे सवारी र ४३ ओटा मोटरसाइकल र स्कुटरलाई कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनहरु म्याद सकिएका पास भएका र कुनै पास नै नभएका पाइएको छ । जिल्ला प्रशासन कार्यालयले अतिआवश्यकहरुको लागि आजसम्म ७ सय ५० ओटा सवारी साधनका पास वितरण गरेपनि अधिकांश पटके पास भएकाले म्याद सकिएको जनाएको छ । प्रशासनले हाल राष्ट्रिय राजमार्ग सहित विकास निर्माणको सामाग्रि लैजाने सवारीसाधनहरुलाई पासको व्यवस्था गरेको सूचना अधिकृत पन्तले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयले बजारमा कस्मेटिक पसलहरुले माक्स र सेनिटाइजर विक्रीको लागि भन्दै पसलहरु खोल्दै जाँदा भिड बढेको कारण बन्द गराएको छ । यस्तै स्थानिय तहहरुबाट बजारमा खाद्यान्न लिनको लागि आउने सवारी साधनहरुले यात्रु बोक्ने गुनासो सुन्नमा आएकोले प्रशासनले अनुगमन गर्ने जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here