बागलुङ, १८ बैशाख ।
बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको शोकमा शुक्रबार गाउँपालिका बन्द गरिने भएको छ ।
वैशाख ८ गते गुल्मीको शान्तिपुर बसपार्कमा रहेको घरमा आगलागीमा गम्भिर घाइते हुनु भएका खनालको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।
आगलागीमा खनालका एक छोराको वैशाख ८ गते नै मृत्यु भएको थियो । उहाँकी श्रीमतीको अस्पतालमा उपचार भैरहेको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित ४९ वर्षीय खनाल सफल व्यवसायीको रुपमा पनि स्थापित हुनुहुन्थ्यो ।
बरेङ गाउँपालिकाले आफ्ना न्यायिक समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक समेत रहनु भएका खनालको निधनमा शुक्रबार पालिकाभर नै शोक विदा दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शोक प्रस्ताव पारित गर्दै पालिकाले भोलि शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको बताउनुभयो । गाउँपालिकाभित्रका सरकारी र गैरसरकारी निकाय बाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह र अन्य कामकाज बन्द हुने गाउँपालिकाले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here