
बागलुङ, १७ बैशाख ।
काठेखोला गाउँपालिका– १ वडा कार्यालयले वडाका सम्पूर्ण घरमा पुगेर कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि स्थानीयको घरघरमा पुगेर जनचेतना फैलाएको छ ।
वडाअध्यक्ष खडक थापाको नेतृत्वको टोलीले वडा भित्र रहेका ७ सय बढी घरमा पुगि कोरोना भाइरस संक्रमणबाट बच्नको लागि सतर्कता अपनाउन सचेत गराएको हो ।
वडाअध्यक्ष सहितको टोलीमा काठेखोला–१ को पाला स्वास्थ्य चौकी प्रमुख धुर्ब के सि, रेडक्रस सोसाईटी पालाका सचिव गोरे वि क, प्रहरी हवल्दार छविलाल गैरेका साथै सम्वन्धीत क्षेत्रमा नेतृत्व गर्ने जुद्ध बहादुर खत्री (तेज), तारा शेरचन, शान्ति थापा, सिता खड्का, छत्र खड्का, गम्विरा थापा, दिल राना लगायतको टोलीले ८ दिनसम्म दैनिक जनचेतना फैलाएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।

वडाअध्यक्ष थापाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि मुलुक लकडाउन रहेको अवस्थामा त्यसलाई पालना गर्न आग्रह गरिएको बताउनुभयो ।
उहाँले कोरोनाबाट बच्नको लागि नियमित सावुनपानीले हात धुन, माक्स लगाउन, दुरी कायम गरि बस्न अनुरोध गरिएको बताउनुभयो । वडाअध्यक्ष थापाले विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जानकारी दिनुभयो ।










