बागलुङ, १६ बैशाख ।
कोरोना भाइरसको संक्रमण रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण स्थगित नियमित खोप कार्यक्रम बागलुङमा सुरु भएको छ ।
कोरोना विरुद्धको अभियानसँगसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु भएको हो । सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी पीपीई तथा अन्य आवश्यक सुरक्षा सामाग्रीको प्रयोग गरेर खोप तथा गर्भ जाँचमा खटिएका छन् ।
लकडाउनका कारण बालबालिकाले लगाउनै पर्नै नियमित खोप कार्यक्रम स्थगन भएको थियो । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत रहेको नियमित खोप सेवालाई जिल्लाका दश वटै पालिकाकास्वास्थ्य तथा खोपकेन्द्रबाट संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए ।
जिल्लामा मासिक करिब ५ सय जना (जन्मेदेखि २ वर्षमुनिका बालबालिका) लाई ११ प्रकारका रोगविरुद्धको खोप दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका दश वटै तहमा खोप तथा सुइको व्यवस्थापन गर्दै आएको छ ।
बागलुङ नगरपालिकाले आईतबारदेखि धौलागिरी अंचल अस्पताल भित्रै रहने गरी गर्भजाँच तथा खोप सेवा संचालन गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद उपाध्ययले बताए ।


नगरपालिकालाई धौलागिरी अंचल अस्पतालले सेवा संचालनको लागि कोठा उपलब्ध गराएको छ । बालबालिकालाई विभिन्न रोग लाग्नबाट सुरक्षित बनाउने गरी बनाइएका खोपहरु अहिलेको भाइरससँग जुध्नका निम्ति पनि अत्यावश्यक रहेको उनको भनाई छ ।
हामीले पिपिई तथा अन्य सुरक्षाका सामाग्री प्रयोग गरेर सेवा सुरु गरेका छौँ स्वास्थ्य शाखा प्रमुख खनालले भने– ‘सामाजिक दुरी कायम गरिएको छ भने बालबालिका ल्याउने आमाहरुलाई अनिवार्य मास्क र सेनिटाईजरको प्रयोग गर्न भनेका छौँ ।’
खोप सेवा जिल्लाका स्वास्थ्य चौकीमा महिनाको एक पटक र धौलागिरी अंचल अस्पतालमा हप्ताको दुई पटक संचालन हुँदै आएको छ । अंचल अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार सुरु भए पछि नगरपालिकाले उक्त सेवा संचालन गरेको हो ।
सकारकाले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुर(रुबेला र निमोनिया रोगको विरुद्ध पिसिभि खोप दिँदै आएको छ ।
जोखिमपूर्ण जिल्लामा भने १२ महिनाका बालबालिकालाई जापानिज इन्सफलाइटिसको खोप तथा गर्भवती महिलाका लागि टीटी खोप उपलब्ध गराउँदै आएको छ। सरकारले यी सबै खोपहरु निशुल्क उपलब्ध गराउँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here