
बागलुङ, १५ बैशाख ।
बागलुङ नगरपालिका बागलुङ र धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाबीचको विवाद चुलिदै गएको छ ।
बागलुङ बजारको फोहोर संकलन तथा विसर्जनको जिम्मेवारी लिएको सहकारीले लकडाउन जस्तो विषम परिस्थितीमा समेत फोहोर संकलन नगरे सम्झौता रद्द गर्ने अवस्थामा पुगेको नगरपालिकाले सहकारीद्वारा पेस भएको स्पष्टिकरण सन्तोषजनक नभएको प्रतिक्रिया दिएको हो ।
दुवै संस्थाले एक अर्काेलाई सम्झौता अनुरुपको काम नभएको आरोप लगाएका छन् । बागलुङ नगरपालिकाले बैशाख १० गते सहकारीको नाममा सम्झौता किन रद्द नगर्ने भनेर सोधेको स्पष्टिकरणको जवाफ सहकारीले आईतबार पेस गरेको थियो ।

सहकारीले पेस गरेको स्पष्टिकरण फोहोर मैला व्यवस्थापन सम्बन्धमा गरिएको सम्झौताको समग्र कार्यलाई दृष्टिगत गर्दा हालसम्मको कार्य र कार्य प्रतिको जवाफदेहिता सन्तोषजनक नपाएएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डापानी शर्माले बताउनुभयो ।
बागलुङ नगरपालिकाले सोमबार सहकारीको नाममा ‘सम्झौता भंग गर्ने सम्बन्ध’ विषयमा पत्र काट्दै फोहोर संकलनको चार वर्षको अवधिमा के कति आय भयो, उक्त आय मध्य नगरपालिकालाई कहिलेदेखि के कति आय हुने गरी कार्य भैरहेको छ ? सम्झौता अनुसार फोहोरमैलाका विविध विकल्पको उपयोग गरी कति जनाले रोजगारी पाए ? फोहोर मैला डम्पीङ साइटमा जम्मा गरेर मात्र सम्झौताका सर्तपालन गरेको दुहाई दिन मिल्छ कि मिल्दैन? जस्ता प्रश्नको जवाफ मागेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतले पत्र काट्दै २०७३ असोज १ गतेदेखि हालसम्म फोहोरमैला शुल्कबाट के कति रकम उठेको छ ? र सो रकम के कस्ता कार्यमा प्रयोग गरियो ? २०७७ बैशाख १४ गतेसम्मको सालवसाली फेहरिस्ता र प्रत्येक वर्षको लेखा परीक्षण प्रतिवेदन तीन दिन भित्र पेश गर्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाले माग गरेको सवालको उचित जवाफ र माग अनुसारका कागजातहरु तीन दिनभित्र पेस नगरे फोहोर व्यवस्थापन सम्बन्धी वि.स २०७२ फाल्गुन १० गतेको सम्झौताका आधारमा सहकारीसँग सहकार्य गरिरहनु उपयुक्त र औचित्यपूर्ण नदेखिएको हुँदा मुल सम्झौताको बुद्दा ९ (ग) अनुसार सम्झौता रद्द गर्ने पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाले दुई वटा सवारी उपलब्ध गराएको र आर्थिक वर्ष २०७६/०७७ सम्म नियमित रुपमा विलका आधारमा सवारी साधन मर्मत खर्च भुक्तानी गर्दै आएको, डम्पिङ साईटमा फोहोर मैला कम्पयाक्ट गर्ने खर्च उपब्ध गराएकोमा गतर्षको महालेखा परीक्षको प्रतिवेदन बमोजिम सम्झौताको पुनरावलोक गरे पछि मात्र खर्च भुक्तानी गर्न सकिने भनिएकोमा सहकारीले आफ्नो आईचर र ट्याक्टर भाडामा लिई फोहोर मैला संकलन गरेको मिडियाकरण गर्न मिल्छ मिल्दैन ?
बारम्बर सवारी साधन मर्मत खर्च तथा जनशक्ति सम्बन्धी सवालको उठाईरहने तर फोहोरमैदा को व्यवस्थापनका सम्बन्धमा सम्झौता बमोजिमका अन्य सर्त पालन भए, नभएको ख्यान गर्नुपर्छ पर्दैन भनेर जवाफ माग गरिएको छ ।
नगरपालिकाले उपलब्ध गराएका ६ जना कर्मचारी मध्ये चार जना कर्मचारी अहिले पनि सहकारीका कार्यरत रहेका छन् । उनीहरुको तलब भत्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले जनशक्ति नदिएको र सहकारी आफैले जनशक्ति करारमा लिई कार्य गरेको भनेर दुसप्रचार गरिएको पत्रमा उल्लेख छ ।
नगरपालिकाले बैशाख १० गते पठाएको पत्रको सारांसमा लेखिएका सवालको जवाफ दिनुपर्नेमा उल्टो निराधान र अमूर्त आरोप लगाउने प्रकृतिको जवाफ पाएको भन्दै गम्भिर आपत्ति प्रकट गरेको छ ।










