
बागलुङ, १५ बैशाख ।
कोरोना भाइरसको महामारी रोकथामको लागि मुलुक लकडाउनको अवस्थामा दुरी कायम गरि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाले सोमबार वडा भित्रका जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई दुरी कायम गरि सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
वडा कार्यालयको समन्वयनमा प्रभु बैंकले वडा भित्रका २ सय ६३ जनालाई १८ लाख भत्ता वितरण गरेको हो । वडा कार्यालयका ४७ जनाले लकडाउन अगावै बैंकमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझेको बैंकले जनाएको छ ।

बैंकका कर्मचारी विनोद चापागाईको नेतृत्वमा खटिएको टोलीले वडा कार्यालयमा ३ ओटा काउण्डर बनाएर दुरी कायम राख्दै भत्ता वितरण गरेको वडा सदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।

वडा भित्र सामाजिक सुरक्षा भत्ता बुझ्ने ३ सय १० जना रहेकोमा ४७ जनाले पहिले नै बुझेकोले ४ महिनाको भत्ता बैंक र वडा कार्यालयको समन्वयमा वितरण गरिएको उहाँले बताउनुभयो ।

वडासदस्य लामिछानेले अहिलेको असहज परिस्थितिमा भत्ता बुझ्ने बृद्धबृद्धा, अपाङ्ग, एकल महिलाहरुलाई बैंकसम्म पुग्न गाह्रो हुने भएकाले वडा कार्यालयमा दुरी कायम गरि वितरण गरिएको बताउनुभयो ।










