
बागलुङ, १५ बैशाख ।
धौलागिरी अंचल अस्पताल बागलुङलाई थप स्वास्थ्य सुविधा युक्त बनाउन व्यवस्थापन समितिले पहल सुरु गरेको छ ।
अस्पताल व्यवस्थापन समितिले आगमी आर्थिक वर्षमा बजेट विनियोजन हुने गरी सिटीस्क्यान, नवजात शिसुको लागि आवश्यक उपचार कक्ष (एनआईसियु) तथा भवनको माग गर्दै स्वास्थ्य मन्त्रीलाई भेट गरेको हो ।
बागलुङबाट प्रतिनिधिसभाको प्रतिनिधित्व गर्ने सांसद देवेन्द्र पौडेल र डा. सूर्य पाठक सहितको टोली लिएर अंचल अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सोमबार भेट गर्नुभएको हो ।
अध्यक्ष रानाले अंचल अस्पताललाई धौलागिरीको विश्वासिलो र सुविधा युक्त बनाउन आवश्यक प्राविधि तथा भवन निर्माणको लागि बजेट विनियोजन गर्न माग गर्नुभएको हो । अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माका अनुसार स्वास्थ्यमन्त्रीलाई १४ करोडको सिटीस्क्यान, एक करोड ५० लाखको एनआईसियु र १० करोड बराबरको बजेट भवन निर्माणमा विनियोजन गर्न माग गरिएको छ ।
माग पत्र बुझदै स्वास्थ्यमन्त्री ढकालले भवन बाहेक उपकरण खरिदको लागि आगमी बजेटमा सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो । धौलागिरी अंचल अस्पताललाई गण्डकी प्रदेश सरकारले पनि उपप्रदेशिक अस्पतालको रुपमा विकास गर्ने घोषण गरेको छ ।
दुई जना कोरोना संक्रमितको सफल उपचार पछि धौलागिरी अंचल अस्पताल स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । एक महिनाको बिचमा अस्तालमा तीन बेडको सघन उपचार कक्ष तयार भएको छ ।










