
बागलुङ, १२ बैशाख ।
बागलुङको काठेखोला गाउँपालिकाले पालिका बाहिर, बेजिल्ला र विदेशमा रहेका पालिकाका बासिन्दाहरुको अनलाइनबाट लगत संकलन सुरु गरेको छ ।
काठेखोला गाउँपालिका स्थायी घर भई हाल विदेशका साथै काठेखोला भन्दा बाहिरी पालिका पोखरा, काठमाडौ, चितवन, बुटवल लगायतका सहरमा बसोबास गर्ने नागरिकहरुको विवरण संकलन सुरु गरेको हो ।
विवरण र तथ्याङ्क संकलन गर्न गुगल फर्मको प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउनका लम्बिदै जाँदा समस्या परेको अवस्थामा उनिहरुको उद्धार तथा व्यवस्थापनको पुर्व तयारीका लागि अनलाइनबाट विवरण संकलन सुरु गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका सूचना प्रबिधि अधिकृत विजय गौतमले गुगलमा भर्न सकिने फारमको विकास गर्नुभएको छ । पालिका बाहिर रहेकाहरुलाई फार्म भर्नका लागि गाउँपालिकाले अनुरोध गरेको छ । व्यक्तिको नाम, वडा न., टोल, सम्पर्क नम्बर, हाल रहेको स्थान लगायतका विषयमा सजिलैसंगै एक मिनेटमै फारम भर्न सकिन्छ ।
रोजगार, अध्ययन, ब्यापार, ब्यवसाय, मजदुरीका सिलशिलामा विदेश तथा देशका विभिन्न सहरमा पुगेकाहरुका लागि लक्षित गरेर अनलाइन फारमको विकास गरेको हो । गाउँपालिकाको वेभसाइट र फेसबुक पेजमा फारमको लिंकमा जान सकिन्छ ।
यसैबीच, काठेखोला गाउँपालिकाले गाउँपालिका भन्दा बाहिरी तथा विदेशबाट आउने सम्पूर्ण नागरिकहरुले आवश्यक नियमपालन गरी अनिवार्य होम क्वारेन्टिनमा बस्नु आग्रह गरेको छ ।










