
बागलुङ, १२ बैशाख ।
बागलुङकी कोरोना संक्रमित १९ बर्षिय युवतीको छैठौं स्वाब परीक्षणको लागि पोखरा पठाइएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस रोगको उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको पाँचौं स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त भएको आएपछि अन्तिम स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
उहाँले शुक्रबार विहानै स्वाब परीक्षणको लागि पोखरा पठाइएकोले बेलुका सम्म रिपोर्ट आउन सक्ने बताउनुभयो । उक्त रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने छ ।
यस अघि ६५ वर्षिय महिला कोरोना मुक्त भएर घर फर्कनुभएको छ । दुवै जना एउटै उडानबाट नेपाल फर्किएका थिए । एउटै सवारी मार्फत बागलुङ आएका युवतीमा चैत्र ४ गते र महिलामा चैत्र २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
६५ वर्षिय महिला कोरोनाको सफल उपचार घर फर्कनु र १९ वर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आउँदा बागलुङबासीहरुलाई राहत मिलेको छ ।










