
बागलुङ, ११ बैशाख ।
बागलुङमा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क गठन गरिएको छ ।
बागलुङ उच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय जिल्ला स्तरीय मानवअधिकारी अवस्था अनुगमन समिति गठन गरिएको हो ।
नेटवर्कको सदस्यमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, गैह्रसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिनाथ शर्मा रहनुभएको छ ।
कोभिट १९ बाट उत्पन्न वर्तमान जटिल परिस्थतिमा मानवअधिकारको अवस्था अनुगमन गर्न केन्द्रीय स्तरमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी सस्था महासंघ नेपालबीच सहकार्य गर्ने सहमति पश्चात जिल्लास्तरमा मानवअधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरिय नेटवर्क गठन गरिएको हो ।
समितिले वर्तमान जटिल परिस्थितीमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भैरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्थापन, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य तथा कोरोनाबाट प्रभावित अन्य मानव अधिकारको अवस्थाको अनुगमन गरी स्थानीय स्तरमा देखिएको समस्या समाधानमा सहजिकरण गर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुमा तथ्य तथा सूचना संप्रेषण गर्नेछन ।










